- शिव पुरी
रौतहट, १५ साउन। रौतहटको सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर वडाध्यक्षकै रोहवरमा निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ। गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीलाई स्थानीयहरूले वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
घटना सार्वजनिक भएपछि मौखिक उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भिडियोमा अन्सारीलाई पोलमा बाँधेर मुक्का हानिरहेको दृश्य देखिन्छ।
गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा अन्सारी र केही स्थानीयबीच सामान्य विवाद भएको थियो । त्यही विषयलाई लिएर रिसईबी साँध्न उनलाई घरबाट बाहिर निकालेर बिजुलीको पोलमा बाँधी स्थानीयहरूले कुटपिट गरेका हुन्।
स्थानीय मोहम्मद साजिद, उनका बुबा, भाई, बतहा र आश महृम्मद कुटपिटमा संलग्न भएको भिडियोमा दृश्य छ । जहाँ उनीहरूले अन्सारीलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले मरणासन्न हुने गरी पिटेको पीडित युवकका दाजु इलियास अन्सारीले बताए।
‘भाइलाई पोलमा बाँधेर कुटपिट गर्नेलाई कारबाही होस्,’ उनले भने, ‘मेरो भाइलाई पशु जस्तै बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गरेको छु ।’
कुटपिट गरिरहँदा घटनास्थलमा वडाअध्यक्ष अब्दुल ताहिर त्यहीँ भएको तर उनले कुटपिट गर्ने समूहलाई नरोकेको पीडितका दाजु इलियासले बताएका छन् । इलियासले घटनामा संलग्नविरुद्ध प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम डीएसपी उमाशंकर प्रसाद यादवले पोलमा बाँधेर कुटपिट गरेको भिडियो भाइरल भएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।
‘पीडितले अहिलेसम्म लिखित जाहेरी भने दिएका छैनन् । मौखिक रुपमा भनेका छन्,ु उनले भने, ‘हामीले पीडितको घाउ जाँचको प्रक्रिया अघि बढाइसकेका छौं । अब लिखित जाहेरी आएपछि कारबाहीको थप प्रक्रिया अगाडि बढाउँछौं । घटनामा संलग्न अन्यको खोजी गरिरहेका छौं।’
कान्तिपुरबाट।