सुरेन्द्रकुमार कामती

सिरहा, ७ असार। जिल्ला अदालत सिराहाको इजलास दुई दिनदेखि लाग्न सकेको छैन। सिराहा जिल्ला अदालत बार एसोसिएसन सिराहाले बेन्च बहिष्कार गरेका न्यायधीशले गोलाप्रथामा भाग लिएपछि विवाद सुरु भएको छ।

जिल्ला अदालत सिराहाका २ नम्बर इजलासका न्यायाधीश लीलाराज अधिकारीको इजलास लगाउन बारले रोक लगाएको छ। ‘न्यायिक असक्षमता’ को आरोप लगाउँदै बेन्च बहिष्कार गरेका छन्। बारले वैशाख १७ मा न्यायाधीश अधिकारीको इजलास बहिष्कार गर्ने निर्णय गरेका थिए।
बम

वैशाख १९ देखि न्यायाधीश अधिकारीको इजलासमा कानुन व्यवसायीले बहस, पैरवी नगर्ने, सो बेन्चमा कुनै कानुन व्यवसायी उपस्थित नहुने र बहिष्कार गर्ने बारले निर्णय गरेको थियो। सोही निर्णयअनुसार न्यायाधीश अधिकारीको इजलास स्थगित भएको थियो।

डेढ महिनापछि बुधबार न्यायाधीश अधिकारी काठमाडौं फर्किएर इजलासमा सहभागी हुन गोलप्रथामा भाग लिएका थिए। बारले अदालत प्रशासनलाई इजलास नलगाउन आग्रह गरेको थियो। जसले गर्दा बुधबार र आज जिल्ला अदालत सिराहाका सम्पूर्ण इजलास स्थगित गरिएको छ।

बारले इजलास बहिष्कारको घोषणासँगै न्यायाधीश अधिकारीको सरुवाको माग पनि गरेका छन्। नेपाल बार एसोसिएसन सिराहाका अध्यक्ष मदन साहले फैसला र आदेशमा न्यायाधीश अधिकारीको अनियमित गतिविधि देखिएपछि इजलास बहिष्कार सुरु भएको बताएका छन्।

बार एसोसिएसनले बेन्च बहिष्कार गर्ने निर्णय गरेको भन्दै अध्यक्ष साहले भने, ‘उनको क्रियाकलापबाट हामी सन्तुष्ट छैनौँ। सरुवाको माग गरी बेन्च बहिष्कार गरेका छौँ।’

इजलास बहिष्कार गरेको बार एसोसिएसनका पदाधिकारी र सिराहा अदालतमा वकालत गर्ने अधिवक्ताहरूको आज आकस्मिक बैठक बस्दै छ।

आगामी आन्दोलनको विषयमा थप निर्णय र सुझाव संकलन गर्न आकस्मिक बैठक बस्न लागेको अध्यक्ष साहले बताएका छन्। बारले २ नम्बर बेन्च बहिष्कार गरे पनि जिल्ला अदालत सिराहा प्रशासनले सातवटै इजलास स्थगत गरेका छन्।

बारले उठाएको विषयमा जिल्ला अदालतका न्यायाधीशहरूले आन्तरिक रूपमा परामर्श पनि गरेका छन्। जिल्ला अदालत सिराहाका श्रेस्तेदार जगदीश भट्टराईले बार एसोसिएसनले २ नम्बर इजलास रोक्न भने पनि बुधबार र बिहीबार दुई दिनका लागि सबै इजलास स्थगित गरिएको बताए।

‘अदालत प्रशासन पनि छलफलमा छ,’ श्रेस्तेदार भट्टराईले भने, ‘बारसँग छलफल गर्न अदालत प्रशासन पनि गृहकार्यमा जुटेका छ।’ अदालतमा इजलास नलाग्दा दैनिक एक सयभन्दा बढी मुद्दाको पेसी पछिका लागि सारिँदा सेवाग्राहीलाई असर भइरहेको छ।

नयाँ पत्रिकाबाट।