काठमाडौ, ५ असार। बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मंगलबार अपरान्ह ५ बजेर ३३ मिनेटमा उनको निधन भएको हो।
सोही दुर्घटनामा मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले मन्त्री सिंहको उपचारका क्रममा निधन भएको पुष्टि गरे।
यसअघि नै उनकी पत्नी र उनकी भाउजुको बझाङमै निधन भइसकेको थियो।
गम्भीर घाइते कानुनमन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाईसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो। तर जोशीर र पीएसओ भण्डारी भने बोल्न सक्ने अवस्थामा छन्।
मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा दिउँसो २ बजेतिर सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।