सिरहाको धनगढीमाई नगरपालिका ११ बलुवाटोलका सदायवस्तीका ३० वर्षिय कल्पना सदाय। जो एकैछिन एक्लै हुँदा वा दिसा पिसाव जाँदा पनि लाएको कपडामा आगलागि हुन थालेपछि चिन्तामा।

 

  • आशिष विश्वकर्मा

सिरहा, ४ असार। सिरहाको धनगढीमाई नगरपालिका ११ बलुवाटोलका सदायवस्तीमा दिनहु आगलागीहुँदा स्थानीय त्रसित बनेका छन्। पछिल्ला १५ दिनदेखि दिनहु घर तथा घरमा रहेका लत्ताकपडा लगायतका सामाग्रीमा दिनहुँ आगोलाग्न थालेपछि वस्तीका मानिस त्रसित बनेका हुन्।

जुनसुकैवेला जतासुकै आगोलाग्ने भएपछि वस्तीका सवै मानिस गाउँ छोडर वाहिर काममा समेत जान पाएका छैनन्।

saroj

यहि क्रममा वस्तीका ३० वर्षिय कल्पना सदायले लगाएको कपडामा पछिल्ला चारदिनदेखि दिनमै ३–४ पटक आगोलाग्न थालेपछि वस्ती झन आतङ्कित बनेका छन्। ‘कल्पना दिसा पीसाव जाँदा र एक्लै पर्ने वित्तिकै कपडामा आगो लागि हाल्छ; कल्पनाका बजैसासु ७१ वर्षिय गौरी सदाले भने, ‘एक्लो हुनेवित्तिकै उनले लाएको कपडामा आगो लागि हाल्छ। दिसा, पीसाव गर्नजाँदा पनि गाह्रो भएको छ। आजैमात्र (सोमबार) विहान दिसागर्न गएका बेला उनले लाएको कपडामा चार पटक आगो लागि सक्यो।’

माघबाट वस्तीमा आगलागी सुरु भएको स्थानीय कमल सिंहले बताए। उनले भने, ‘पहिलो पटक यो वस्तिमा माघ महिनामा मन्कु सदाको घरमा आगलागी भएको थियो। त्यसवेला गाउँमा कोही नभएले उनको घरै शखाप भयो। तर, पछिल्लो १५ दिनदेखि सुरुभएको आगलागीले वस्तीका सवैजसो घरको छानो र कपडा, ओछ्यानहरु जलेको छ।’

कल्पनाले सा–सना नानीहरु भएकाले घरमै बच्चा स्याहार्ने र खाना बनाउने काममा रहेकाले गाउँमा भएको आगो निभाउने गरेको बताए।

यहि क्रममा गत शुक्रवार (असार १ गते) घरमा खाना बनाईरहेका बेला उनले बारीतर्फबाट जिउभरी आगो दनदनी बल्दै गरेको बच्चा घरतिरै दैड्दै आएको देखेको बताए। उनले भने, ‘म घरमा खाना बनाउँदै थिएँ। माड फाल्न निस्केको बेला मैले जिभरी आगो दन्किदै गरेको बच्चा मै तिर आईरहेको देखें। बच्चा देखेपछि म चिस्याउँदै बजै सासुलाई बोलाउन घरतिर आएँ। बजै सासुसँगै फर्केर जाँदा बच्चा भेटिन। वरपर खोजे कतै भेटिएन।’

त्यहि दिनदेखि कल्पना एक्लै हुने वित्तिकै र दिसा पीसाव जाँदा कपडामा आगो लाग्ने गरेको श्रीमान सरोजले बताए। आगोका कारण उनले आफ्नै देखाउन नमिल्ने ठाउँहरु पोलेको र घाउ हुन थालेको बताए।

आगो लाग्ने क्रम बढेपछि गाउँले त्रासमा छन्। उनीहरु पछिल्लो तीन दिनदेखि एकैठाउँ भेला भएर कल्पनालाई रुङ्गेर बस्ने गरेका छन्।

inar

दिनहु मजदुरी गरेर जिवीका चलाउँदै आएका सदाय वस्तीकाहरु काममा जान नपाएपछि मुखमा माड लाउन पनि धौ–धौ हुन थालेको छ।

आगो लाग्ने वित्तकै मान्छे पोलेको गन्ध आउने र थोरै पानीले पनि आगो निभिने गरेको गाउँलेले सुनाए। स्थानीय कमल सिंहले भने, ‘आगो लागेपछि मान्छे पोलेको गन्ध फैलिन्छ। थोरै पानिले पनि आगो निभिहाल्छ। हामी पनि अचम्ममा परीसकेका छौं।’

घटना सुरुहुन थालेको तीन चार दिनपछि मेयर शिवशंकर महतो र वडा अध्यक्ष गाउँ घुमेर गएको उनीहरुले सुनाए। त्यसपछि फर्केर आएको पनि छैन। चासो पनि देखाउनु भएको छैन।

दिनहु हुने आगलागीले गाउँका धेरै घरका ओड्ने ओछ्याउने जलिसकेको छ। कल्पनाको परीवारको त झन लाएको कपडाबाहेक केही छैन। कल्पनाका सासु शिवोले भने, ‘मेरो यहि लाएको कपडामात्रै हो। सवै जलिसक्यो। कल्पनाको दिनमै चारपटक आगोलाग्न थालेपछि छिमेकीले दिएको कपडाले लाज ढाक्नु परेको छ।’

गाउँलेहरुमा कुल रिसाएकाले यस्तो घटना भएको अन्धविश्वास छ। कुल रिझाउन उनीहरुले यस विचमो पाँच गाउँ मागेर भगवत्ती (दिनाभद्री) को पुजा गरिसकेको छ। गाउँलेहरुले चन्दा उठाएर दिएका पैसाले बोका पाठी किनेर चढाई पनि सकेका छन्। तर, घटना घट्नुको साटो दिनदिनै बढीरहेको उनीहरु बताउँछन्। गाउँलेले अझै राम्रो धामीलाई बोलाएर गाउँ छेक्ने निधो गरेको बताए।

कल्पनाको जिउमा आगोले पोलेर घाउ हुन थालेपनि उपचारको लागि स्वास्थ्य संस्था लगिएको छैन। औषधी उपचार गर्दा देउता झन रिसाउने अन्धविश्वासका कारण उनको उपचार भएको छैन।

मेयर शिवशंकर महतोले आफूले घटनाबारे जानकारी दिएको बताए। उनले भने, ‘म आफै पनि गएको थिएँ। घटना विश्वास नगरेपनि दैवि शक्तिजस्तो देखिएकोले उनीहरुलाई धामी झाक्री ल्याएर देखाउन भनेर आएको छु।’

‘पछिल्लो दिनदेखि व्यक्तिमै आगो लाग्ने गरेको भन्ने सुनेको छु। यसले मलाई झन चिन्तित बनाएको छ; मेयर महतोले भने, ‘घरै पुरै जलेको होइन विशेषगरी कपडाहरु जलेको छ। केही वेरमा म र प्रशासकिय अधिकृत नै पुनः जाँदै छु। उनीहरुलाई अवाशयक लत्ताकपडा तत्काल नगरले गर्ने र अन्य सहयोगी निकायलाई पनि सहयोग माँग्ने सल्लाह गरेको छु।

यस विच गाउँलेहरुले प्रहरीलाई खवर गरेपनि उनीहरुले खासै चाँसो नदिएको बताउँछन्। ‘यो घटनाले हामी अन्यौलमा छौं; स्थानिय लप्टु सदायले भने, ‘प्रहरी, स्थानीय सरकारलाई खवर गर्यौं। ऋाउनु पनि भयो। तर, केही वास्ता गरेको छैन।’

सिरहा प्रहरीले औपचारीक रुपमा घटनाको जानकारी जानकारी नभएको बताएको छ। मेयर शिवशंकर महोसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आएनन्।

यो २२ घरका सदाय(मुसहर) वस्तीमा शौचालय नभएका कारण जनीका उखुवारी र झाडीमा दिसा गर्न जाने गरेको छ।

 shibo  kapada