सिरहा,३ असार। नागरिक अगुवा डा.प्रविण कुमार यादवले विभिन्न माग अघि सार्दै सिरहास्थित चन्द्र नमूना माध्यमिक विद्यालय (प्राविधि) सिरहामा तालाबन्दी गरेको छ।
आर्थिक पारदर्शीता, शैक्षिक गुणस्तरीयताको ठोस नीति, शिक्षक कर्मचारीको दुरुस्त तथ्यांक, विद्यालयको नाममा रहेको चल अचल सम्पतिको विवरण, लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका विभिन्न मागहरु अघि सार्दै नागरिक अगुवा यादवले विद्यालयमा तालाबन्दी गरेको हो।
‘जनगुनासो आएपछि सबै कुरालाई समेट्दै छ सुत्रिय माग सहितको निवेदन केही दिन अघि विद्यालयमा दिएको थिएँ,’ उनले भने, ‘निवेदनको माग बमोजिमको विवरण उपलब्ध गराउन विद्यालयमा कैऔं पटक ताकेता गरेपनि कुनै चासो नदिँदा बाध्य भएर तालाबन्दी गरेका छौं। तालाबन्दीबाट हुन सक्ने सम्पूर्ण नोक्सानीको जिम्मेवारी विद्यालय प्रशासनले लिनुपर्छ।’
विद्यालयका प्राचार्य मधुसुदन कर्णको गैर जिम्मेवारी र विद्यालय व्यवस्थापन समितिको फितलो निर्णयका कारण करोडौंको भौतिक क्षति भएको उनले दाबी गरे। अल्पकालिन सोच राखेर निर्णय गरेको आधारमा केही वर्ष अघि मात्र करोडौंको लागतमा निर्माण व्यवसायीक भवन सडक क्षेत्रमा परेर भत्किएको उनको तर्क छ।
उनका अनुसार निर्माण गरिएको व्यवसायीक भवन र अन्य निर्माण कार्यको खर्च अपारदर्शी छन्। विद्यालयको निर्माण कार्य र खरिदहरुमा व्यापक आर्थिक अनियमितता भएको उनको दाबी छ। विद्यालयको शैक्षिक स्तरीयता र सरसफाईको अवस्था पनि दैनिय रहेको उनले दाबी गरेका छन्।
चन्द्रमाविमा तालाबन्दी गर्ने डा.प्रविण सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन कुमार यादवको कान्छो भाई हो। नगरप्रमुख हुनु अघि डा.नविन सिरहामा रहेको चमाविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेको थियो। व्यवस्थापन समितिको कार्यकाल सकेको केही महिना पछि नगरप्रमुखमा निर्वाचित भएको थियो।
यो तालाबन्दिले मेयर यादवमाथि पनि प्रश्न उठाएको छ। स्थानीयका अनुसार यसअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहिसकेका मेयर यादव अहिले नगर शिक्षा समितिका अध्यक्ष समेत हुन्। विद्यालयको दुर्गतिको जिम्मा मेयर यादवले समेत लिनुपर्ने स्थानीयको भनाई छ।
तालाबन्दीबारे जानकारी लिन विद्यालयका प्राचार्य मधुसुदन कर्णसँग फोन गर्दा सम्पर्कमा आउन चाहेन्।