काठमाडौं, २८ जेठ। आज मधेश लगायतको स्थानमा पानी पर्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन्।

मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अब विस्तारै बदलीको दिन बढ्ने र तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। ‘त्यसैले तराईका भू–भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ, ‘कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।’

शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेशको विराटनगरमा शुक्रबारदेखि नै तापक्रम घटेको थियो। बिहीबार विराटनगरको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेकोमा शनिबार ३५।३ मापन भएको थियो।

वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार अब क्रमशः बदलीको दिन बढ्ने छ र वर्षा पनि हुने छ । त्यसकारण तापक्रम पनि घट्ने हुँदा गर्मीबाट राहत मिल्ने छ।

सोमबार र मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख छ।