सिन्धुली, १६ जेठ। सिन्धुलीमा सर्पले डसेर एकै परिवारको दाजुभाईको मृत्यु भएको छ। दुधौली नगरपालिका १ कुर्थौलीका गणेश पहाडीका दुई छोरा १३ वर्षीय ग्रिस र ३ ग्रीस्मको आज विहानपख सुतिरहेकै ठाउँमा सर्पले डसेर मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ।

बुवा आमासँगै सुतेका उनीहरु सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो। आज बिहान करिब ३ बजेतिर कान्छो छोरा छटपटाएपछि आमा गंगा व्युँझिएकी थिइन्। त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो। त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकीजनकपुर रिफर गरिएको थियो।

आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सञ्चार शाखाले जनाएको छ। प्रहरीका अनुसार मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले डसेको निलडाम छ।
गर्मि र वर्षासँगै सर्पको गतिविधि बढ्ने भएकाले सर्पदंशका घटनाहरु बढ्न थालेको छ।