वीरगञ्ज, ४ जेष्। वीरगञ्ज महानगरपालिका १७ अलौमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना आज डोजर चलाएर हटाएको छ। डोजरसहित गएको महानगरको टोलीले सार्वजनिक सडक अवरुद्ध हुने गरी स्थानीयवासीद्वारा निर्माण गरिएको संरचना भत्काएको हो।
अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाइएको छ भने पोखरीको पूर्वपट्टि रहेको सडकमा निर्माण गरिएका चारवटा घरको पर्खालसमेत भत्काइएको छ। सडक अतिक्रमण गरी बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माणकार्य अघि बढाइने १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले बताए।
महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथै त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ। अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैँ पुगेका थिए।
महानगर प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताए। उनले भने, ‘अभियान सुरुभईसकेको छ। कहीँकतै अतिक्रमण भएको सूचना भए हामीलाई जानकारी दिनु होस्।