उपाध्यक्षमा निर्वाचित भए लगत्तै यादवले गाउँपालिकाको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल पाइन्। उनी सोही मोटरसाइकल प्रयोग गर्छिन् । मोटरसाइकल चढ्दा लाग्ने पेट्रोल पनि उनलाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ।

तर पनि उनी प्र २–०१–००१ च ०४५७ नम्बरको चार पाङ्ग्रे गाडी भाडामा लिएकी छन्। उक्त चार पाङ्ग्रे गाडी भने उनी चढ्ने गरेकी छैनन् । तर उनी मासिक १ लाख २० हजार रुपैयाँ बुझ्दै आएकी छन्।

 

उनी भाडामा लिएको गाडी नवराजपुर गाउँपालिका ५ का तेजीलाल यादवको नाममा छ। तेजीलाल उपाध्यक्ष यादवकी ससुरा हुन्।

उक्त गाडी भने उपाध्यक्ष यादवका जेठान वजिन्द्र प्रसादले गाउँघरमा भाडामा लगाउने रुपैयाँ कमाउँछन्। वजिन्द्रले सोही गाडी बिहेवारि र अन्य कामका लागि सर्वसाधारणलाई भाडामा समेत दिने गर्छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहले कार्यपालिकाको निर्णय अनुसार ०७९ भदौ १ देखि गाडी भाडामा लिएर उपाध्यक्ष यादवलाई चढ्न दिएको बताए।

उनले दिएको जानकारी अनुसार उपाध्यक्षका लागि चार पाङ्ग्रे गाडी भ्याटसहित मासिक १ लाख २० हजार बुझाउने गरी पालिकाले भाडामा लिएको छ। उपाध्यक्षले चार पाङ्ग्रे गाडी बाहेक पालिकाको एउटा मोटरसाइकल पनि राखेकी छन्।

अधिकृत साहका अनुसार उपाध्यक्ष यादवलाई चार पाङ्ग्रे गाडीका लागि १ सय लिटर डिजेल र मोटरसाइकलका लागि १०–१५ लिटर पेट्रोल पालिकाले उपलब्ध गराउँछ । इन्धन प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार बुझ्ने गरेकी छन्।

यता, उपाध्यक्ष यादवले पनि पालिकाबाट मोटरसाइकल र चार पाङ्ग्रे गाडी सुविधा लिएको स्वीकार गरेकी छन् । उनले आवश्यकता अनुसार दुवै गाडी प्रयोग गर्ने गरेको बताइन्।

चार पाङ्ग्रे गाडी त तपाईँको आफ्नै हो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘गाउँपालिकाले भाडामा लिएर आफूलाई चढ्न दिएको चार पाङ्ग्रे गाडी विषयमा बुझ्नु छ भने पालिकामा आएर कुरा गर्नुस् । म अहिले छलफलमा छु।’

नेपालप्रेसबाट।