वीरगञ्ज, २३ बैशाख। तत्कालिन नगर विकास समितिद्वारा सिर्सिया गाउँमा प्लटिङ गरिएको जग्गामा वीरगञ्ज महानगरपालिकाले ३८ वर्षपछि नापजाँचको काम सुरु गरेको छ। वर्षौंअघि विक्री भएपनि नापी कार्यालयले नक्सा छुट्याउन असहयोग गर्दा हालसम्म पनि प्लटीङ भएको जग्गामा बस्ती विकास हुन सकेको थिएन।
अहिले वीरगञ्जमा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि जग्गाको नापजाँच सुरु गरिएको हो । बिहिबार महानगर र नापी कार्यालयको संयुक्त टोलीले सिर्सिया पुगेर नापजाँचको काम सुरु गरेका छन्।
नगर विकास समितिले विक्रम सम्वत् २०४२ चैत्र २८ मा तत्कालिन सिर्सिया गाउँ विकास समितिको वडा नम्बर १, २ र ३ हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा पर्ने २६ विघा जग्गामा व्यवस्थित बस्ती स्थापना गर्ने उद्देश्यले प्लटिङ गरेको थियो।
६० फिटको फराकिलो बाटो र ३५÷३५ फिटको सहायक बाटोहरु छुट्याएर नगर विकास समितिले बस्ती विकास गर्ने उद्देश्यले प्लटीङ गरेको जग्गामा नक्सांकन भएपनि नापी कार्यालयले नापजाँच गरेर नक्सा छुट्याउन असहयोग गर्दै आइरहेको थियो। नापी कार्यालयको असहयोगका कारण जग्गा खरिद गरेको ३८ वर्ष वितिसक्दा पनि यहाँ स्थानीयहरुले घर बनाउने काम सुरु गर्न सकेका थिएनन्।
यद्यपि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा आजबाट नापी कार्यालय र महानगरपालिकाको संयुक्त टोली नापजाँचमा खटेर सडक तथा नाला छुट्याउने काम सुरु गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालयमा नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले एक हप्ता भित्रमा प्लटिङको जग्गा नापजाँचको काम सक्ने लिखित प्रतिबद्धता समेत जनाएका थिए। प्रतिबद्धता जनाएको एकदीन भित्रै नापजाँचको काम सुरु भएको महानगरको नापी शाखाका प्रमुख देवलाल प्रसादले जानकारी दिए।
टोलीले बुधबार दक्षिण तर्फ ६० फिटको सडकका साथै ३५÷३५ फिटको ५ वटा सडक नापजाँच गरेर छुट्याइदिनुका साथै किलाकाटी समेत गरेको छ। एक हप्ता भित्र नापजाँच सक्ने गरी काम भइरहेको देवलाल प्रसादले बताए।