सिरहा, २० बैशाख। धनगढीमाई नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत गोपालप्रसाद बगालेलाई कुटपीट गर्नेहरुमाथि कार्वाहीको काम गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ। नगर कार्यापालिकाको आज बुधबार अपरान्ह बसेको बैठकले प्रमुख प्रशासकिय अधिकृत बगालेमाथि हातपातमा प्रत्यक्ष संलग्न दोषी र मतियारहरुलाई हदैसम्मको कार्यवाहिको माँग गर्दै विज्ञप्ती जारी गरेको हो।
कार्यपालिकाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रमुख प्रशासकिय अधिकृत वगाले र अन्य कर्मचारीहरुमाथि भएको गाली गलौज र हातपात घटनाप्रति नगर कार्यापालिकाको गम्भिर ध्यानाकर्षण भएको छ। यस प्रकारको निन्दनिय कार्यको यस कार्यपालिका घोर भत्र्सना गर्दछ।’
मेयर शिवशंकर महतो, उपमेयर संगिता चौधरी सहित २५ जना कार्यपालिकाद्वारा जारी विज्ञप्तीमा, ‘पीडितलाई न्याय दिलाउनेको लागि यस घटनामा प्रत्यक्ष रुपमा संलग्न र घटनाका मतियारहरुलाई हदै सम्मको कार्यवाहीको लागि सम्वन्धित निकायमा आग्रह गर्दछौं; भनिएको छ।
जारी विज्ञप्तीमा घटनाबाट कोही पनि कर्मचारी, जनप्रतिनिधी तथा स्थानीय बासिन्दालाई विचलित नहुन आग्रह गरिएको छ।
प्रमुख प्रशाकिय अधिकृत बगालेमाथि गत शुक्रवारका दिन कमलामाई सप्लायर्सका संचालक बेचन शर्माको नेतृत्वमा पिकपमा आएका धनगढीमाई नगरपालिका ४ का रामएकवाल यादव, १२ नम्वर वडाका महेश अधिकारीसहित ६/७ जनाको समूहले गाली गलौज गर्दै कुटपीट गरेका थिए।
उनीहरुले कार्यकक्षमै पसेर ग्राभेल खानी उत्खनन्मा अस्थायि रुपमा स्थगित गरेको विषयमा प्रमुख प्रशासकिय अधिकृतलाई गालि गलौज गर्दै पानीको बोतल हान्ने र हातपात समेत गरेका थिए। सँगै रहेका एक जना नगर प्रहरी र एकजना सेवा ग्राहिले उनीहरुलाई बाहिर निकाले पनि उनीहरुले अन्य कर्मचारीलाई पनि गाली गलौज गरेका थिए। घटनापछि कर्मचारीहरुले कामकाज ठप्प गरेकाथिए।
कुछपीटको घटना भएको पाँच दिनपछिमात्र नगर प्रमुख सहितका कार्यपालिकाले विज्ञप्ती जारी गरेको छ।
यस नगरपालिकामा अन्धाधुन्ध रुपमा जनप्रतिनिधी र कर्मचारीकै मौन समर्थनमा ग्राभेल उत्खनन भईरहेको छ। त्यसलाई रोक्न मेयर महतोले वेवास्ता गरेको स्थानीयको आरोप रहँदै आएको छ।