सिरिहा, २० बैशाख। सिरहाको गोलबजार नगरपालिका ६ स्थित गाउँब्लकको जग्गामा घर बनाएर वर्षौंंदेखि बस्दै आएका बिपन्न गरिबहरुलाई उठिवास गराउने षड्यन्त्रसहित दुःख दिने गरेको पीडितहरुले गुनासो गरेका छन्। करिब ७० वर्षअघि बाजेकै पालादेखि बसोवास गर्दै आएको भएपनि उठिवास गराउने षड्यन्त्र अनुसार अनावश्यक मुद्दाममिला गरेर दुःख दिने गरेको पीडितहरुले बताएका छन्।

स्थानीय चन्द्रकुमार तामाङ्ग, दिपक तामाङ्ग, कालीमाया तामाङ्ग र मनिकलाल तामाङ्गसहितले साविक असनपुर गाउँ विकास समिति वार्ड नम्वर ७ कित्ता नम्वर १०६ को गाउँ ब्लक जमिनमा पुस्तौंदेखि बस्दै आएका प्रमोद सिंह दनुवार, तारादेवी सिंह दनुवार, ज्ञानकुमार सिंह दनुवार, दुखरण पासवान, श्रीदेव सिंह दनुवारसहितका परिवार बस्दै आएको जग्गाबाट उठिवास गराउन पटक–पटक धाकधम्की र मुद्दा लगाएर दुःख दिने गरेको उनीहरुको गुनासो छ।

लामा परिवारले साविक असनपुर गाविस वडा नम्वर ७ कै साविक कित्ता नम्वर ४६० को एक बिघा छ कठ्ठा दुई धुर जग्गा आफ्नो परिवारको नाममा दर्ता रहेको र बाँकी तीन कठ्ठा १२ धुर जमिन गाउँ ब्लकमा नापी भएको दावीसहित आफ्नो नम्बरी जमिनसँगै रहेको बाटो छेउको जमिन पनि आफूहरुको हकभोगमा रहेको दावी गर्दै आएको छ।

पीडित परिवारले भने आफ्नो बाजे पुर्खाकै पालादेखि बस्दै आएको सो जमिनहरु आफूहरुले भोग्दै आएको प्रमाणहरु सुरक्षित रहेको बताएका छन्। उनीहरु बस्दै आएको कित्ता नम्वर १०६ मा २००५ सालमै प्रमोद सिंह दनुवारको बाजे सुरेन्द्र सिंह दनुवार १० धुर जमिनमा बसोवास गर्दै आएको सरकारी कागजातमा देखिन्छ। त्यस्तै, सोही कित्ताको १० धुर जमिन २०५७ सालमा नन्दी कुमार दनुवारले रामदेव दनुवारलाई राजीनामा पास गरेको देखिन्छ। उनीहरुसँग भएको कागजातमा २००५ सालअघि देखि नै भोगचलन गर्दै आएको उल्लेख भएको छ।

स्थानीय बासिन्दाहरुले पनि पीडितहरु वर्षौंदेखि त्यस ठाउँमा बसोवास गर्दै आएको बताएका छन्।

दैनिक मजदूरी गरेर जीविका चलाउनु पर्ने परिवारलाई मुद्दामा फसाएर दुःख दिने गरेको पीडितहरुको गुनासो छ। बस्ने जमिनबाहेक केही नरहेका पीडितहरुले जिल्ला अदालत सिरहामा मुद्दा लड्दा लागेको ऋण अझै बाँकी रहेको भन्दै फेरि अर्को मुद्दा लगाएको दुखेसो गरेका छन्। ‘मजदूरी गर्ने कि मुद्दाको तारेख धाउन जाने’ पीडितहरुले भने। जिल्ला अदालत सिरहाले २०७५ भदौ ११ गते पीडितहरुको पक्षमा निर्णय गरेको छ।