सिरहा, ७ बैशाख। सिरहाको मिर्चैयामा आन्दोलनकारी र प्रहरीविच भएको झडपमा पाँच जना प्रहरीसहित दुईदर्जनबढी प्रदर्शनकारी घाइते भएका छन्। मिर्चैया बजारस्थापना कालदेखिनै बस्दै आएका व्यवायीहरुको घर भत्काएको विरोधले उग्ररुप लिएपछि भएको झडपमा पाँच जना प्रहरी र करिव २० जनाभन्दाबढी प्रदर्शनकारी घाइते भएका हुन्।
घाइते प्रदर्शनकारीको उपचार स्थानिय स्वास्थ्य संस्था र कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा भइरहेको संघर्ष समितिका संयोजक अञ्जय साहले जानकारी दिए।
स्थिति नियन्त्रणमा लिन २७ राउण्ड हवाई फायर र ११ सेल असुरग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रविन्द्रराज पाण्डेकले जानकारी दिए। उनले भने, ‘शान्तिपूर्ण प्रदर्शन भनेपनि प्रदर्शन कारीले नगरपालिकाको गेट धकेल्ने, प्रहरीलाई हातपात गर्ने, ढुङ्गामुढा प्रहार गरेर कार्यालयका झ्याल तथा सवारी साधानको सिसा फोडेपछि अवस्था नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको हो।’
प्रदर्शनकारीको ढुङ्गामुडाबाट कार्यालयको झ्याका सिशा र मेयर श्रवन कुमार यादव चढ्ने गाडीमा समेत क्षति पुगेको जनाएको छ।
प्रदर्शनकारीको आक्रमणबाट पाँच जना प्रहरी समेत घाइते भएका छन्। जसमध्यये तीन जनको अवस्था सामान्य र दुईजना गम्भिर घाइते भएको छ। उनीहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भईरहेको छ।
नगरपालिकाले घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुमबासी र व्यापारीहरू पछिल्लो तीन सातादेखि आन्दोलनमा छन्। आन्दोलनकै क्रममा आज बजारमा कोणसभागरी पूर्वनिर्धारित कार्यक्रम अनुसार नगरपालिकामा धर्ना दिन गएका आन्दोलनकारीमाथि नगरपालिकाभित्रैबाट ढुङ्गामुडा सुरुभएपछि आन्दोलनले उग्ररुप लिएको संघर्ष समितिका संयोजक अन्जय साहले जनाए।
उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माँग गरी प्रदर्शन गरहेका थिए। तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बन्न पुगेको स्थानीय अगुवा अञ्जय साहले जानकारी दिए।
सिरहा जिल्लास्थित मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा जथाभावी बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन्।
संघर्ष समितिले परापूर्वदेखि बस्दै आएका स्थानीयको घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएकोलगायत आरोप लगाउँदै मिर्चैया बजारका स्थानीयवासीले निरन्तर प्रदर्शन गर्दै आएका छन्। बिहीबार बिहान सर्वपक्षीय बैठकमा सहभागीहरूले मेयर यादवले मिर्चैयामा आतंक मच्चाएको, बजार क्षेत्रलाई बर्बाद गर्न लागिपरेको भन्दै सशक्त रूपमा प्रतिकार गर्नुपर्ने बताएका थिए। मिर्चैया बजार गाउँब्लक क्षेत्रमा पर्छ।
चार वर्षअघि विशेष नापी टोलीद्वारा गाउँब्लकका सम्पूर्ण जमिनको नाम जाँच गरिसकेर लालपुर्जा दिने प्रक्रियामा रहेका बेला माघ २७, फागुन ११ र फागुन १९ गतेका दिन नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर हहरा डोजर लगाएर भत्काएको छ। स्थानीयले घर पसलमा रहेको सामान निकाल्ने समय समेत नदिएको गुनासो गरेका छन्। यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै प्रदर्शन गर्दै आएका छन्।
उनीहरूले जग्गाको लालपूर्जा दिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्नेलगायतका माग गरेका छन्।
सयौँ वर्षअघि मिर्चैया जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोबास गराएको भए पनि अहिले आएर मेयर यादवले राजनीतिक प्रतिशोधका कारण उठिबास गराएको उनीहरूको गुनासो छ। नगरपालिकाले सोही बजार क्षेत्र रहेको २ सय ५६ नम्बर कित्तालाई सरकारी जग्गा भन्दै आएको छ।
गाउँब्लकभित्र सरकारी, सार्वजनिक र निजीलगायत जग्गा रहेको भए पनि मालपोत कार्यालयले यो जग्गालाई नेपाल सरकारको नाममा गरी दिएको उनीहरूको गुनासो छ। २०५१ सालमा तत्कालीन सरकारको निर्देशनमा मालपोत कार्यालयहरूले गाउँब्लकका जमिनहरूलाई तत्कालका लागि संरक्षण गर्ने उद्देश्यले सरकारको नाममा श्रेस्ता बनाइदिएको थियो। नेपालका धेरै स्थानमा गाउँब्लकका जग्गा सरकारको नाममा गरेको भेटिएपछि २०७५ सालमा संघीय सरकारले राजपत्रमा सूचना नै निकालेर यी जग्गाहरू सम्बन्धित जग्गाधनीको नाममा कामय गर्न भनेको थियो।