सिरहा, १४ चैत। भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवमाथि जातीय भेदभाव तथा छुवाछुत कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ। गत फागुन २२ गते अध्यक्ष यादलवले आमाको शुद्धि भोजमा जातिय आधारमा दलित, मुश्लिम र गैर दलित समुदायलाई ब्यानर र प्लेकार्ड झुण्ड्याएर छुट्टाछुट्टै भोज ख्वाएको विरोधमा दलितहरुले यहि चैत ५ गतेहालेको उजुरी आज मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहाले दर्ता गरेको हो।
कथित पानी चल्ने र नचल्ने जातिहरुलाई अलग–अलग स्थानमा राखेर दलित समुदायमाथि विभेद गर्ने गरी भोज आयोजना गरेको विरोधमा अधिकारकर्मी शिव कुमार मोची सहित विन्दैस्वर मण्डल, राम विलास मोची, नवीन पासवान, शिवलाल सदा, सत्य नारायण मोची, जितेन्द्र पासवान, असर्फी मोची लगायत ११ जनाले जाहेरी दिएका थिए।
उनीहरुले दर्ता गराएको जाहेरीमा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ३ , उपदफा (१), (२) र (३) र दफा ४ को उपदफा (१),(२) र (३) (४), (५) (६) र (१२) र दफा ५ बमोजिम कार्वाहीको माग गरेको छ। जाहेरीमा दफा ७ को उपदफा १ को (क), (ख) र (ग) र सोही ऐनको दफा २ बमोजिम आरोपीलाई पक्राउ गरी हदैसम्म सजाय गर्न र क्षतिपूर्ति भराउन माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले सुरुमा जाहेरी दरखास्त दर्ता गर्न आनाकानी गरे पनि मानव अधिकार आयोग र दलित आयोगले दबाब दिए पछि जाहेरी दर्ता गरिएको दलित अधिकारकर्मी संजय महराले जानकारी दिए। महराले दोषीमाथि हदैसम्मको कार्वाही गर्न समेत माग गरेको छ।