सिरहा, २७ फागुन। संयुक्त दलित मोर्चा, सिरहाले दलित समुदायमाथि अपमानित व्यहार गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवलाई कार्वाहीको माँग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरेका छन्। दलितमाथि सार्वजनिक स्थानमा छोईछिट्टोको व्यवहार गरिनु कानुनीरुपमा अपराध भएको भन्दै मोर्चाले गाउँ पालिका अध्यक्षलाई कार्वाही माँग गरेका हुन्।
प्रदर्शन पछिको कोणसभामा बोल्दै बक्ताहरुले छोइछिट्टो गरिनु कानुनी अपराध भएकोले नेपालको संविधान, कानुन बमोजिम हदैसम्मको कार्वाही गर्नुपर्ने माँग गरे। उनीहरुले भने, ‘भागवानपुर घटना ६० लाख दलितहरुप्रतिको अपमान हो, यो सामाजिक मेलमीलापको विषय होइन, कानुनी निरुपनको विषय हो। घटनाको गहन छानविनगरी दोषीहरुलाई हदैसम्मको कार्वाही गरिनु पर्छ।’
कोणसभामा मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षागर्ने, कार्यान्वयनगर्ने व्यक्ति र संस्थाहरुनै दलितमाथि विभेदगर्न उद्देलित भएको बताए। उनले भने, ‘कानुन निर्माता र कार्यान्वय गर्ने व्यक्तिहरुको यस्तै रवैया रहिरहे दलितहरु फेरी आन्दोलित हुनुपर्ने देखिन्छ, भगवानपुर घटनाको छानविन गरी दोषिलाई कार्वाही नगरे हामी आन्दालेलनलाई निरन्ता दिन्छौं।’
सोही क्रममा पूर्व जिल्ला समन्वय समिति सिरहाका सदस्य तथा अधिकारकर्मी कृष्णमायाँ विकले दलितहरु फेरी कानुन कार्यान्वयनको लागि एक जुट हुनुपर्ने अवस्था आएको बताए। उनले आज पनि दलितमाथि विभिन्न खालका विभेद भई नै रहेको छ। अव कानुन कार्यान्वयन गर्न पनि दलितहरुले आन्दोलन गनुपर्ने अवस्था आएको अधिकरकर्मी विकले बताए।
पत्रकार तथा अधिकारकर्मी अर्जुन थपलियाले भागवानपुर घटना मेलमिला गर्ने खालको नभएको बताए। उनले भने, ‘यो धटना ६० लाख दलितहरुप्रतिको अपमान हो, सामाजिक मेलमीलापको विषय होइन, कानुनी निरुपनको विषय हो। घटनाको विषयमा छानविनगरी दोषीहरुलाई हदैसम्मको कार्वाही गरिनु पर्छ।’
कोषसभामा अधिकारकर्मी राजु विश्वकर्मा, संजय महरा, डा. जयनारायण यादव, महेन्द्र सदा, विन्दु साह लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए।
नेकपा एमालेका जिल्ला सचिव समेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवले फागुन २२ गते सोमबार आमाको मृत्युको १३ दिने भोजको आयोजना गरेका थिए। त्यहि भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानार नै राखेर छुट्टाछुट्टै भोजको आयोजना गरिएको थियो।
भोजमा जिल्लाका नेकपा एमालेका नेता तथा सासंद, पूर्वमन्त्रि, वर्तमान प्रदेश मन्त्री र प्रमुख जिल्ला अधिकार, प्रहरी प्रमुख लगाएतका उपस्थिति रहेको थियो।