लहान, २६ फागुन। लहान नगरपालिकाले भूभिवर्गिकरणको काम सम्पन्न गरेकाले अव यहाँका जमिन कित्ताकाट हुने भएको छ। नगरपालिकाले भूमीलाई १० क्षेत्रमा वर्गीकरणगरी शुक्रवारै सम्पूर्ण विवरण नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरेकाले अव जग्गा किनबेच र कित्ताकाटको काम हुनेभएको हो।
,नगरपालिकाले कृषि, आवसीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी,खोला, ताल, सिमसार र सार्वजानिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरेको छ।
गएको जेष्ठ २७ गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो। सोहीअनुसार १० क्षेत्रमा वर्गीकरण गरी विवरण मालपोत र नापीलाई बुझाइएको मेयर महेश चौधरीले पत्रकार सम्मेलनगरी जानकारी दिए। वर्गीकरणका लागि लहान नगरपालिका भू–उपयोग परिषदले फागुन १४ गते निर्णय गरेको थियो।
भूमी वर्गीकरण गरी मालपोत र नापी बुझाउने लहान नगरपालिका जिल्ला पहिलो पालिका बनेको छ। जग्गा वर्गीकरण नहुँदा किताकाट र किनबेच रोकिएको थियो। जग्गाको कारोबार रोकिदा स्थानीयवासीलाई मर्कामा परेका थिए। अब किताकाट खुलेपछि जग्गा किनबेच गरी आफ्नो व्यवहार चलाउन सजिलो नगरबासि बताउँछन्।