वीरगञ्ज, २६ फागुन। वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आगजनी गरेका छन्। विद्यार्थी र क्याम्पस प्रशासनबीच स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको विषयमा शुक्रबार छलफल चलिरहेको बेला विद्यार्थीहरुको एउटा समूहले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेको हो।
निर्वाचनका लागि क्याम्पसले जारी गरेको मतदाता नामावलीमा ८ सय भन्दा बढी फर्जी विद्यार्थीहरुको नाम रहेको विषयमा क्याम्पस प्रशासन, निर्वाचन समिति र विभिन्न विद्यार्थी संगठन तथा समूहका पदाधिकारीहरुबिच छलफल चलिरहेको थियो । सोही क्रममा एउटा समूहले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगजनी गरेको होे।
आगलागिबाट शाखामा रहेको फर्निचरमा क्षति पुगेको छ । पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेता सुजित गिरी, शिवम साह र मनिष चौहानलाई नियन्त्रणमा लिएको छ।
निर्वाचन समितिले फागुन २१ गते प्रकाशित गरेको १० हजार २ सय ३२ नामावलीमध्ये ८ सय फर्जी मतदाता रहेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएका छन् । समाजवादी विद्यार्थी यूनियन ठाकुरराम एकाई समितिका उपाध्यक्ष शशिकान्त सर्राफका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एउटा समूहलाई फाइदा पुग्ने किसिमले फर्जी भर्ना गरेर मातदाता नामावाली प्रकाशित गरेको छ । त्यसैगरी मतदाता नामावालीमा नाम प्रकाशित भएका विद्यार्थीलाई समेत परिचय पत्र नबाँडेर मातदानबाट वञ्चित गर्न खोजेको उनको भनाई छ।
बैठकमा क्याम्पस प्रशासन र निर्वाचन समितिले स्वच्छ तरिकाले काम गर्न नसकेको आरोप लगाउँदै क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसिया, निर्वाचन समितिका संयोजक रोशन लामिछाने र विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख रामविनय यादवले राजिनामा दिनुपर्ने मागसमेत उठेको थियो।
विद्यार्थीहरुले फर्जी भर्ना खारेज गरेर दोस्रो पटक फोटोसहितको मतदाता नामावाली प्रकाशित गर्नुपर्ने, हालको निर्वाचन समितिलाई खारेज गरेर नयाँ गठन गर्नपर्ने, भोटर लिस्टमा नाम भएका सम्पूर्ण विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग पनि उठाएका छन्।
स्ववियू निर्वाचनको मिति नजिकिँदासमेत क्याम्पस प्रशासनले विद्यार्थीको माग नमानेर अटेरी गर्न खोजेपछि आक्रोशित विद्यार्थीहरुले आगजनी गरेको सर्राफको भनाई छ । ‘क्याम्पस प्रशासनले चरम लापरवाही गरेको छ। स्वच्छ र मर्यादित तरिकाले निर्वाचन सम्पन्न गराउनु भन्दा क्याम्पस प्रशासनले विद्यार्थीलाई जिस्काउने काम गरेपछि आक्रोशमा विद्यार्थीहरुले आगजनी गरेका हुन्,’ उनले भने।
क्याम्पस प्रमुख डा. उमेशकुमार चौरसियाका अनुसार विद्यार्थीहरुको आरोप निराधार हो । कर्मचारीले विद्यार्थी भर्नाका क्रममा त्रुटी गरेको स्विकार गर्दै उनले मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गर्ने तयारी भइरहेको बता ।
दोस्रो र तेस्रो वर्षका विद्यार्थीले भर्खरै परीक्षा दिएको हुँदा उनीहरुको प्रवेशीका परीक्षालाई आधार मानेर पनि मतदान गर्न सकिने र पहिलो वर्षको विषयमा छलफल गर्न सकिने चौरसियाको भनाई छ ।
त्रुटी भएको नामावली सच्याइएको जानकारी दिँदै उनले अन्तिम मतदाता नामावली सार्वजनिक हुँदा केही नहुने बताए । रकमी चलखेलका कारण फर्जी मतदाता बनाएको विषय निराधार भएको बताउँदै उनले प्रमाणसहित आरोप लगाउन चेतावनी दिए।