- आशिष विश्वकर्मा
लहान, २५ फागुन। नेपालको संविधान २०७२, मौजुदा कानुन अनुसार जातीय छुवाछूत र भेद्भाव बर्जित छ त्यसमा पनि सार्वजनिक ओहदामा बसेका व्यक्तिले त जातीय भेद्भाव र छुवाछूत गर्नु अक्षम्य गल्ती मानिन्छ। तर, सिराहाको भगवानपुर गाउँपालिका अध्यक्षको घरमा सोमबार आयोजित मृत्यु भोजमा बहालवाला संघीय तथा प्रदेश सांसद्, पार्टीका विभिन्न तहका नेताहरुकै उपस्थितिमा दलितहरुमाथि खुलमखुला जातीय छुवाछूत गरिएको पाइएको छ।
गाउँपालिका अध्यक्ष यादवको घरमा करिब ४० मन (१६ क्विन्टल) चामल पाकेको भोज खान भगवानपुर गाउँपालिका क्षेत्रका सबै जाती समुदायका करिव पाँचहजार जनालाई निम्त्याइएको थियो। भोजको निम्तो मान्न आएकामध्ये अध्यक्षको घरदेखि पश्चिम, सडकदेखि उत्तरपट्टि खाली खेतमा गैरदलित समुदाय, दक्षिणपट्टि दलित र पूर्वपट्टि मुस्लिम समुदायलाई राखेर भोज खुवाइएको भोजमा सहभागी एक स्थानीय दलितले बताए।
भगवानपुर गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले सिरहा जिल्ला कमिटीका सचिव समेत रहेका उग्रनारायण यादवकी दिवङ्गत आमाको २२ फागुनमा आयोजित १३ औं दिनको भोजमा प्लेकार्ड झुड्यारै दलितहरुमाथि जातीय छुवाछूत गरिएको पाइएको हो। भोज स्थलमा जातीय समुदाय अनुसार प्लेकार्ड राखेर गैरदलित, दलित तथा मुस्लिम समुदायलाई अलग अलग स्थानमा भोज खाने प्रबन्ध गरिएको तस्वीर सामाजिक संजालमा छरपष्ट छन्।
भोजमा नेकपा एमाले सम्बद्ध आधा दर्जन संघीय तथा प्रदेश सांसद्हरु, त्यति नै संख्यामा मेयर उपमेयर र अन्य जनप्रतिनिधिहरु निम्त्याइएका थिए। एमालेका पोलिटब्यूरो सदस्य, मधेस प्रदेश सह इञ्चार्ज, पूर्व कानून मन्त्री तथा वर्तमान संघीय सांसद लीलानाथ श्रेष्ठ, रामशंकर यादव, सम्झना थपलिया, मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शत्रुधन प्रसाद सिंहसहितको उपस्थितिमा भएको भोजमा जातीय छुवाछूतलाई बल पुग्ने गरी प्लेकार्ड नै झुण्ड्याइएपछि केही एमाले सम्बद्ध दलित नेताहरुले विरोध गरेको बताइएको छ। भोजस्थलमा झुण्ड्याइएको प्लेकार्ड अनुसार संघीय तथा प्रदेश सांसद्, मेयर उपमेयर, एमालेका नेता कार्यकर्ताहरु प्लेकार्ड अनुसार गरिएको लहरमा भोज खाएर फर्किएको दलित अगुवाहरुले बताए।
सामाजिक दवावका कारण आफूले सबै समुदायलाई एकै ठाउँमा बसाएर भोज खुवाउन नसकेको अध्यक्ष यादवले बताए। उनले आफू अहिले पनि सबै जातजाती समुदायको घरमा गएर खानपिन गर्ने, सँगै बसेर भोज खाने गरिरहेको भएपनि स्थानीय जातीय अगुवाहरुको सामाजिक दबाबका कारण जातीय समुदाय अनुसार जातीय मसुदाय अनुसार एउटै खेतको छुट्टाछुट्टै राखेर भोज खुवाउनु परेको उनले सुनाए। उनले भने, ‘मैले समाजका विभिन्न जातीय समुदायका अगुवाहरुलाई राखेर सबैलाई एकै पटक एकै ठाउँमा भोज खुवाउँछु भन्ने प्रस्ताव गरें; तर, स्थानीय जातीय अगुवाहरुले एकै ठाउँमा राखेर भोज खुवाउँदा अपमानित हुन सक्ने भन्दै स्वीकार गरेनन्।’
आफूले सबैलाई मिलाएर जानुपर्ने बाध्यता भएकाले त्यस्तो हुन गएको तर कसैलाई उचनिच देखाउने मनसाय नरहेको उनले दावी गर्दै भने ‘मैले नचाहँदा नचाहँदै पनि भोजको कारणले दलित समुदायका कसैलाई चोट पुग्न गएको छ भने सार्वजनिक रुपमा क्षमायाचना गर्न तयार छु मैले कसैमाथि अपमान गर्ने नियतले त्यस्तो गरेकै होइन।’
मधेश प्रदेशका गृह तथा संचार मन्त्री शत्रुधन प्रसाद सिंहलाई जातीय रुपले प्लेकार्ड टाँगेरै गैरदलित, दलितहरुलाई अलग अलग राखेर खुवाइएको भोजमा मन्त्री र पार्टी नेताको हैसियतमा तपाइँपनि सामेल हुनु भएको हो भन्ने प्रश्नमा उनले शुरुमा आफू त्यहाँ नगएको दावी गरे। उक्त भोजमा तपाइँ पनि जानु भएको कुरा तपाइँकै पार्टीका नेताहरुले बताइरहेका छन् नि त? भन्ने प्रश्नमा आफू पनि भोजमा सामेल भएको तर साँझ अबेर मात्र पुगेको स्वीकारे। उनले भने, ‘दिउँसो कसलाई कहाँ राखेर कसरी भोज खुवाइयो भन्ने विषयमा कसैले पनि आफूलाई जानकारी नगराएको र भोज खाएर म राती नै फर्किएँ।’ उनले दलित, गैरदलित मुस्लिमलाई प्लेकार्ड नै टाँगेर अलग अलग राखेर भोज खुवाइएको हो भने त्यसो गर्नु हुँदैथ्यो; भने।
पछिल्लो समय जातीय विभेद, महिला हिंसा, दाइजो प्रथा जस्ता सामाजिक कुरीतिको विरुद्ध सामाजिक रुपान्तरणको अभियान चलाइरहेका रामरिझन यादवले पार्टीको जिल्ला सचिव र गाउँपालिका अध्यक्ष जस्तो पदमा पुग्नु भएका उग्रनारायण यादवले पदीय मर्यादा अनुकुल काम गर्न सक्नु भएन। एनले थपे, ‘कम्युनिष्ट पार्टीको जिल्ला सचिव जस्तो जिम्मेबार पदमा पुगेका व्यक्तिले दलितहरुसँग कुनै पनि खालको विभेदजन्य व्यवहार गर्नुहुँदैन भन्ने पार्टीको अवधारणा अनुसार काम गर्न सक्नु पथ्र्यो उहाँले त्यासरी गर्न सक्नु भएन। त्यसैले, उहाँले पार्टीको सचिवबाट तत्काल राजीनामा दिनु पर्छ।’
सिरहाका संचारकर्मी तथा दलित एक्टिभिष्ट अर्जुन थपलियाले पार्टीका जिल्ला सचिव जस्ता जिम्मेबार नेता, त्यसमा पनि गाउँपालिका अध्यक्षको घरमा आयोजित भोजमा गैर दलित, दलित र मुस्लिम समुदायलाई अलग अलग स्थानमा राखेर भोज खुवाएको घटनाले एमालेले जातीय छुवाछूतलाई संस्थागत संरक्षण गरेको आरोप लगाए। ‘यसरी दलित गैरदलित, दलित तथा अन्य समुदायलाई प्लेकार्ड झुण्ड्याएर अलग अलग स्थानमा राखेर भोज खुवाउने अभ्यासले दलितहरुप्रतिको एमाले पार्टी नीतिको धज्जी उडेको छ’ उनले भने ‘पार्टी नीतिमा राम्रा कुरा राख्ने तर जिम्मेबार नेताहरुको व्यवहारमा अर्कोथरी गर्नु पाखण्ड हो।’
समाजमा वर्षौदेखि जरा गाडेर बसेको जातीय छुवाछूत जस्तो कलंंकको अन्त्य गर्न नसकिने उल्लेख गर्दै उनले पूर्व कानून मन्त्रीसहित आधा दर्जन सांसद, मेयर उपमेयरको सहभागितामा छुट्टाछुट्टै भोज खुवाइएको घटनाले गैरदलित, दलित तथा अन्य समुदायबीच छुवाछूतलाई प्रश्रय दिएकाले अक्षम्य अपराध गरिएको उनले बताए। त्यसैले तत्काल राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगले स्थलगत रुपमा तथ्य संकलन गरी दोषी पाइए कानुन बमोजिम कारबाही गरिनु पर्ने उनको माग छ।
मृत्यु भोजमा पानी चल्ने जात र पानी नचल्ने जातलाई बेग्ला बेग्लै ठाउँमा राखेर भोज खानका लागि संकेत सहितको प्लेकार्ड टाँगेर दलितमाथिको जातिय छुवाछूतलाई बढावा दिइनु विभेदको पराकाष्ठा भएको दलित अधिकारकर्मी संजयकुमार महराले जिकिर गरे। एनले भने, ‘भोज स्थलमा टाँगिएको प्लेकार्डले पक्कै पनि तीनै तहका सरकारको आँखामा लगाएको पट्टी बाँधिएको पुष्टि हुन्छ। जातीय छुवाछूतको बढावा दिने व्यक्तिलाई अविलम्ब कारबाहीको दायरामा ल्याई जातीय तथा अन्य छुवाछूत र भेद्भाव कसूर र सजाय ऐन अनुसार समेत कारबाहीका लागि स्थानीय प्रशासन तथा राष्ट्रिय मानव अधिकार आयोगसँग जोडदार माँग गर्दछौं।’
चमार कल्याण समाज नेपाल केन्द्रीय समितिले गाउँपालिका अध्यक्षको घरमा आयोजित भोजमा दलित समुदायका पासवान, खत्वे, रजक (धोबी), मुसहर लगायतलाई पोष्टर बनाएर अलग ठाउँ तोकेर भोज खुवाउने कार्यको घोर विरोध गरेको छ। समाजका संस्थापक सुरेन्द्र कुमार महराले गाउँपालिकाका अध्यक्ष जस्ता व्यक्तिले सबै जनतालाई समान तवरले हेर्नु पर्ने, विभेदको विरुद्ध आफै लाग्नु पर्ने व्यक्तिले जातीय समुदाय अनुसार छुट्टाछुट्टै राखेर भोज खुवाउनु जातीय विभेदलाई बढावा दिनु सरह हुने भएकोले तत्काल माफी माग्नु पर्ने माग गरेका छन्।