सिरहा, २४ फागुन। तराईबाट दहेज प्रथा उन्मुलन नहुन्जेल महिला हिंसाको घटनामा कमि नआउने गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले बताए। ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधनगर्दै मेयर श्रेष्ठले दहेज र महिला हिंसा आपसमा अन्तरसम्वन्धित विषय रहेको भन्दै दहेज प्रथा रोकथाम गर्न नसकिए महिलाहिंसाको घटनामा कमि नआउने बताएका हुन्।
बाल विवाह र दहेज प्रथा महिला हिंसाको मुख्य कारण रहेको बताउँदै मेयर श्रेष्ठले महिलाहरु अझै शिक्षित, सक्षम र क्षमताबाण बनाउनु पर्नेमा जोड दिए। उनले आजपनि छोरी र छोरा पढ्ने विद्यालय फरक फरक हुनेगरेको बताउँदै घरबाटै छोरी र छोरामा समानता ल्याउनुपर्नेमा जोड दिए।
उनले भने, ‘छोरा छोरीलाई राम्रो शिक्षा नदिदा बाल विवाह हुने सम्भावना धेरै रहन्छ, कम पढेका छोरीहरुलाई दहेजपनि धेरै दिनुपछ। त्यसैले अव हामीले शिक्षामा विशेष जोड दिनुपर्छ।’
सोही क्रममा अनेमसंघका केन्द्रिय सदस्य सरियार चौधरीले अव महिला चुलो चौकोभन्दा बाहिर निस्कनुपर्नेमा जोड दिए। उनले कसैलाई पनि कसैले केहि नदिने भन्दै आफ्नो अधिकारको लागि महिलाहरु आफै सक्रियहुनु पर्ने बताए।
गोलबजार नगरपालिकाका उपमेयर मानती कुमारी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनधीहरुले पनि मन्तव्य व्यक्त गरेको थिए।
गोलबजार नगरपालिकाको आयोजना र दलित महिला केन्द्र नेपाल (सीडीडव्लुएन), मुक्ति नेपाल, सिरहा,दलित विकास मञ्च सिरहा लगायतको संस्थाको सहयोगमा अन्तराष्ट्रिय नारि दिवसको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कोणसभा अघि महिलाहरुले विभिन्न नारा लगाउँदै गोलबजार परिक्रमा गरेका थिए।
आजै जिल्लाको लहान, सिरहा सदरमुकाम लागाएतका स्थानमा ११३ औं अन्तराष्ट्रि महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ।