जनकपुर, २० फागुन। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १, रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट भगवानको मुर्तिसहित चाँदीका गरगहना चोरी गरेको आरोपमा पक्राउ परेका पाँचजनालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले शनिबार जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय धनुषमा पत्रकार सम्मेलनको आयोजना गरेरे मन्दिरबाट चोरी भएको सामान, एक थान बन्दुक र घरेलु हतियारसहित उनीहरुलाई सार्वजनिक गरेको हो।
चोरी घटनामा संलग्न रहेको आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ४, का ३० वर्षीय सरिफ मुसलमान, सोही नगरपालिका–५, का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपालिका ४, सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला शाह, सोही नगरपालिका ४, का २२ वर्षीय नर्मुदिन शाह र कमला नगरपालिका ७ हथमुन्डाका २२ वर्षीय रमेशकुमार महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदप्रसाद गौतमले बताए। मन्दिरमा आइतबार राती मन्दिरमा चोरी भएको थियो।
प्रहरीका अनुसार उनीहरुको साथबाट मुर्ती सहित चाँदीको पिढी २ किलो, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी २ किलो बरामद भएको छ। पासपोर्ट थान १, परीक्षा प्रबेश पत्र थान १ , तामाको मरअंकित बस्तु थाना १, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान १, पित्तलको गिलास थान १, दियो थान १, तामाको सानो सानो गिलासहरु, चरेशको थाल ७ थान, हम्मर थान १, कमण्डल थान १ समेत बरामद गरिएको छ।
जिल्लाबाट खटिएको प्रहरी टोली जनकनन्दनी गाउँपालिका ३ महुवास्थित भारतीय सीमा नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो। योजनावद्ध तरिकाले भारत प्रवेश गर्न महुवास्थित सीमा नजिकमा रहेको रेल्वे ट्रयाकको बाटो हुँदै गइरहेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानसहित पक्राउ गरिएको उनले जानकारी दिए।
राजदेवी मन्दिरमा चोरी भएको अघिल्लो रात जनकपुर उपमहानगर १२, हनुमानगढीस्थित हनुमान मन्दिरमा समेत यसै समुहले चोरी गरेको हुनसक्ने अनुमान गरिएको भन्दै प्रहरी प्रवक्ता गौतमले चोरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए।