वीरगञ्ज, ८ फागुन। वीरगञ्जको मुर्लीस्थित ढल एवम् नालाको नजिकै सडकमा एक युवक बस्थे। दिनभरी यताउती भौँतारिँदै खाने कुराको जोहो गर्ने र राती त्यही ढल एवम् नालाको छेउमा गएर पल्टिने उनको दैनिकी थियो। निकै कष्टकर अवस्थामा देखेपछि उनलाई उद्वार गर्ने मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्तालाई योजना पलायो।
सोही योजना बमोजिम जिल्ला प्रहरी कार्यालय पर्सा र सामाजिक अभियानता एवम् मानव सेवा आश्रमका अभिभावक प्रकाश थारुको पहलमा आइतवार उनलाई उद्धार गरियो। अन्दाजी ३५ वर्षीय ति युवक मानसिक रुपमा असन्तुलित छन्।
वीरगञ्जको मुर्ली चोक स्थित ढलको छेउमा लामो समयदेखि बस्दै आएका मानसिक अवस्था कमजोर भएका उनलाई आश्रमले आइतबार राति उद्धार गरेको मानव सेवा आश्रम वीरगञ्जकी प्रमुख सानुमाया गुरुङ्ले बताइन््।
मानसिक अवस्था ठीक नरहेकाले उनले आफनो नाम तथा ठेगाना पनि बताउन सकेका छैनन्। आइतबार राति सडकबाट उद्धार गरि आश्रममा राखिएका ती युवकको सोमबार बिहान कपाल दारी काट्नुका साथै नुहाइ दिएर सफासुग्घर पारिएको छ। यसअघि सडकमा हेर्नै नसकिने अवस्था भएका ति युवकको हुलिया अहिले फेरिएको छ।
अब आश्रममै स्वास्थ्यकर्मीको टोली बेलाएर उनको उपचार पनि सुरु गरिने भन्दै गुप्ताले भने, ‘स्वास्थ्य र मानसिक अवस्था ठिक भएपछि उनको परिवारको सोधपुछ गरी खोजी गर्नेछौं, त्यसपछि पारिवारिक पुर्नमिलन गराउनेछौँ।’
गुप्ताले कतै असहज अवस्थामा जीवन व्यतीत गरीरहेका व्यक्ति देख्ने बित्तिकै उद्धार गर्ने सोच बनाइहाल्छन्। यसअघि पनि धेरै दिन वीरगञ्जका विभिन्न सडकमै बसीरहेका २ जनालाई देखेका गुप्ताले फागुन २ गते प्रणय दिवसका अवसरमा उद्धार गरेका थिए।
ती दुवै जनालाइ पनि आश्रमकै संरक्षणमा राखिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया छोटी भन्सार स्थित मानव सेवा आश्रममा हाल १ जना बालक, ३ जना बालिका, ७ जना पुरुष सहित ५२ जना आश्रित छन्।