सिरहा, ४ फागुन। जनता माध्यमिक विद्यालय विष्णुपुर गाउँपालिका २ राजपुरका प्रधानाध्यापक शत्रुधन यादवमाथि आफ्नै विद्यालयका कर्मचारी र शिक्षकले कुटपीट गरेको विरोधमा पाँच दिनसम्म विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। विद्यालय सञ्चालनको समयमा भएको विवादका क्रममा विद्यालयका कर्मचारी लेखापाल सरोज कुमार यादव र स्वयम्सेवक शिक्षक नरेश कुमार यादवले हातपात तथा दुरव्यवहार गरेको विरोधमा पालिका भरीका विद्यालय ८ गतेसम्मका लागि बन्द गर्ने घोषणा गरेको हो।
बुधबार घटनाभए लगतै शरणलिन गाउँपालिका कार्यालय पुगेका प्रधानाध्यापक यादवलाई सरोज कुमार यादव, उनका दाई डाक्टर राकेश कुमार यादव र नरेश कुमार यादवले थप दुव्यवहार र कुटपीट गरेको संघर्ष समितिले जनाएको छ।
संघर्ष समितिले प्रधानाध्यापक यादवलाई दुव्यवहार र कुटपीट गर्नेलाई कानुनी कार्वाहीगरी ज्यान सुरक्षाको माँग गर्दै ८ गतेसम्मलाई विद्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ।
लेखापाल यादवसँग रहेको चेकबुक मागेको निहुँमा सरोजसँग विवाद भएको प्रधानाध्यापक यादवले बताए। उनलेभने, ‘मैले अन्य शिक्षक कर्मचारीकै विचमै चेकबुक माँग्दा उनले हात बटारेर दुव्यवहार र कुटपीट गरे।’
घटनाको जानकारी गराउन गाउँ पालिका पुगेर अध्यक्षलाई जानकारी गराएर निस्कने क्रममा पालीका कार्यालयको अगाडी नै फेरी कुटपीट गरेको प्रअ यादवले बताए। प्रधानाध्यापक यादवमाथि बुधबार कुटपीट भएको थियो।
यता गाउँ पालिका अध्यक्ष सत्य नरायण यादवले शिक्षक र नगरपालिकाको एउटा टिम बनाएर घटनाको छनविन गर्ने र दोसी माथि कार्वाही गर्न समिति गठन गर्ने भनेपनि शिक्षकहरु जिल्ला पुगेको बताए। उनले भने, ‘मैले शिक्षकहरुलाई शिक्षक र गाउँ पालिका कर्मचारीसहित ५ जनाको छानविन समिति बनाएर घटनाको छानविन गरौं, दोषी ठहरेकालाई कार्वाही गछौं, भनेको थिएँ। शिक्षकहरु अगाडी बढ्नुभयो। तर, गाउँ पालिकाले पनि घटनाको छानविनगरी कार्वाही गर्छ।’
शिक्षक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा पनि घटनाबारे जानकारी गराएको छ। गाउँ पालिकामा जम्मा चारवटा माध्यमिक विद्यालय र १० वटा आधारभुत सहित ९ विद्यालय रहेका छन्।