वीरगञ्ज, ३ फागुन। सिर्सिया नदि प्रदुषण मुक्त बनाउन कडाईका साथ निर्णय कार्यन्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। वीरगञ्ज महानगरपालिकाको सभा कक्षमा बुधवार भएको छलफलमा सहभागीहरुले अनुगमन मात्रै गर्दा प्रभावकारी नभएको हुँदा कडाई गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका हुन्।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नदिलाई प्रदुषण मुक्त बनाउने उद्योग एवम् कलकारखालाई कारवाही जरिवाना गर्नुपर्ने बताए। पटकपटक अनुगमन गरेर ध्यानाकर्षण गराउँदा पनि प्रशोधन नगरेरै नदिमा प्रदुषित पानी मिसाउने उद्योग एवम् कलकारखालाई कारवाहीको दायरामा ल्याउने मेयर सिंहले चेतावनी दिए। नदि फोहोर बनाएको भन्दै सिमावर्ती शहर रक्सौलबाट धम्की समेत आउने गरेको बताउँदै उनले अब कडाई गर्नुको विकल्प नरहेको बताए।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रक्रिया मिचेर विधि एवम् कानुनविपरित सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म नदि प्रदुषण मुक्त नबन्ने बताए। बाराको जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्र भएर बहने नदिलाई यि तिनै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय पर्साको सयुँक्त सहकार्यमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पनि अनुगमनलाई उद्योगहरुले वेवास्ता गरेको धारणा राखे। आफ्नै नेतृत्वमा पटकपटक अनुगमन गर्दा पनि अटेरी गरेको हुँदा अब जरिवाना गरेर कारवाही गर्नुपर्ने उपप्रमुख आलमको भनाई छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउन जितपुर सिमरा उपमहानगरले सक्दो प्रयास गरीरहेको बताए।
स्थानीय प्रशासन, स्थानीय निकाय र उद्योगीबिचको समन्वयले नै नदिलाई प्रदुषण मुक्त बनाउन सकिने बाराकै परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री कुर्मीको बुझाई छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले वीरगञ्ज महानगरले सञ्चालन गरेको अनुगमन अभियानको सह्राना गर्दै नदिलाई स्वच्छ र सफा बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।
वीरगञ्ज उद्योग वाणिज्य संघका प्रमुख प्रशासकिय अधिकृत मनोज उपाध्यायले वीरगञ्ज उद्योग वाणिज्य संघ नदिलाई स्वच्छ बनाउने विषयमा गम्भिर भएको बताए। उद्योगी व्यवसायीलाई नियम लगाएर बाध्यकारी बनाउने निकाय संघ नभएको बताउँदै उनले सबैसँग समन्वय गरिदिने लगायतका काममा कुनै कसर बाँकी नराखेको उपाध्यायले बताए।
साथै नदिलाई प्रदुषण बनाउनमा केही हदसम्म उद्योग एवम् कलकारखानाको कमजोरी भएपनि उद्योगी मात्रैका कारण नदि दुषित नभएको उपाध्यायको भनाई छ। सिर्सिया नदि मात्रै नभएर सभ्यता एवम् संस्कृतिसँग जोडिएको धरोहर भएको हुँदा यसलाई सफा बनाउन सबैले एकबद्ध भएर काम गर्नुपर्ने र गल्ती गर्नेलाई दण्ड गर्दा उद्योग वाणिज्य संघले बचाउ नगर्ने पनि उनले प्रतिबद्धता जनाए।