जसपालाई सरकारमा ल्याउन कठिन, जनमतको बाहिरिने ‘अल्टिमेटम’

    • माघ ८, २०७९
    • १५७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    अनिल यादव

    काठमाडौं, ८ माघ। चार दलले आफूखुसी शक्ति बाँडफाँट गरेपछि असन्तुष्ट सत्तासाझेदार दुई दल जसपा र जनमतलाई फकाउन कठिन भएको छ । असन्तुष्ट जसपा सरकारमा सहभागी हुने सम्भावना जटिल बन्दै गएको छ भने जनमतका एक मन्त्री एक महिना हुन लाग्दासम्म विनाविभागीय छन् । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका लागि छुट्याइएका दुई मन्त्रालय वन तथा वातावरण र युवा तथा खेलकुद आफैँसँग राखे पनि जसपा यथास्थितिमा सरकारमा सहभागी नहुने अडानमा छ । उसले उपराष्ट्रपतिको सुनिश्चितता खोजेको छ, तर माओवादी त्यसका लागि तयार भइसकेको छैन । 

    शक्ति बाँडफाँटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले ‘गोप्य सहमति’ गरेको जसपाको आरोप छ । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषय टुंग्याउन बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव बीचमै उठेर हिँडेका थिए । 

    त्यसपछि मंगलबार प्रधानमन्त्रीले दुई मन्त्रालय आफूसँग राखेर सरकारलाई समर्थन गरेको दल जसपाविनै मन्त्रिपरिषद् विस्तार गरेका थिए । यद्यपि, सभामुख र उपसभामुखको निर्वाचनमा जसपाले सत्ता गठबन्धनकै उम्मेदवारलाई मत दिएको छ । 

    उपसभामुखको निर्वाचनअघि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका यादवले सरकार गठनमा पाखा लगाइएको भन्दै गुनासो पोखेका थिए । ‘सबै भागबन्डा तपाईं र प्रचण्ड मिलेर गर्ने, हामीलाई निर्णय मात्रै सुनाउने प्रवृत्ति ठीक भएन,’ उनले ओलीसँग गुनासो पोखेका थिए । जवाफमा ओलीले ‘पख्नुस्, म मिलाउँछु’ भन्दै यादवलाई थम्थमाएको स्रोतले भन्यो । 

    १२ सिट रहेको जसपाले सत्तागठबन्धनभित्र तीनवटा मन्त्रालयसहित उपराष्ट्रपतिमा दाबी गरेको छ । तर, भागबन्डामा १४ सिट रहेको राप्रपालाई रोजेअनुसारकै तीन मन्त्रालय दिँदा जसपालाई दुई मन्त्रालय छुट्याइएको छ । प्रदेशमा मुख्यमन्त्री दिएको भन्दै केन्द्रमा दुई मन्त्रालयमा मनाउने प्रयासमा प्रचण्ड छन् । तर, यादव उपराष्ट्रपति पद पनि जसपालाई दिने निर्णयमा मात्रै सहमति जनाउने मनस्थितिमा छन् । जसपाका प्रवक्ता मनीष सुमन सम्मानजनक बाँडफाँट नभए जसपा सरकारमा सहभागी नहुने बताउँछन् । ‘यथास्थितिमा सरकारमा जाँदैनौँ,’ उनले भने, ‘अहिले पनि सरकारबाहिर रहेर समर्थन छँदै छ, यसरी नै रहन्छौँ ।’ 

    यहीबीचमा सहमतिअनुसार मन्त्रालय नपाएको भन्दै जनमत पार्टी पनि सरकारसँग असन्तुष्ट छ । जनमतबाट पठाइएका मन्त्री अब्दुल खानले सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नदिइएको भन्दै कार्यभार सम्हाल्न गएका छैनन् । उनी ११ पुसमै विनाविभागी मन्त्री भएका थिए । 

    पार्टीका उपाध्यक्षसमेत रहेका उनको आरोप गठबन्धनभित्र राजनीतिक बेइमानी भएको भन्ने छ । यस विषयमा अध्यक्ष सिके राउतले प्रचण्ड र ओली दुवैलाई भेटेरै यथास्थितिमा सरकारमा रहन नसकिने भने स्पष्ट गुनासो राखिसकेका छन् । मन्त्री खानका अनुसार प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने मन्त्रिपरिषद् बैठकअगावै यो गुनासो सल्ट्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । खानेपानी, वन तथा वातावरण र युवा तथा खेलकुदबाहेक अन्य मन्त्रालयमा मन्त्रीहरूले कार्यभार सम्हालिसकेका कारण प्रधानमन्त्री प्रचण्डलाई जनमतलाई रोजाइका मन्त्रालय दिन असहज छ । 

    यसको विकल्पमा जनमतले बाँकी रहेका दुई मन्त्रालय पाउनुपर्ने सर्त राखेको छ । ‘दुई मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड सकारात्मक हुनुहुन्छ । उहाँले आइतबार बिदा भएकाले सोमबार मन्त्रिपरिषद् बैठकअगाडि नै यो समस्या सुल्झाउँछु भन्नुभएको छ,’ मन्त्री खानले भने, ‘राजनीतिक बेइमानीलाई नसच्याए सरकारबाट बाहिरिन्छौँ ।’

    नयाँ पत्रिकाबाट।

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल