वीरगञ्ज, २२ पुस। शैक्षिक क्षेत्रमा उत्कृष्टता हाँसिल गर्दै आएको वीरगञ्जस्थित ज्ञानदा एकेडेमीले अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएको त्याँहाका विद्यार्थीहरुको प्रस्तुतीले प्रमाणित गरेको छ। सातौँ वार्षिकोत्सवका अवसरमा शुक्रवार विद्यालय परिसरमै आयोजित एकदिवसीय खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीको प्रस्तुतीले अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको प्रमाणित गरेको हो।

ज्ञानदा एकेडेमीले विद्यालयमा कक्षास्तरीय देखि अन्तरसदनात्मक विविध किसिमका खेलकुद प्रतियोगिताहरुको आयोजना गरेको थियो। जसमध्ये पिजिदेखि यु केजीसम्म र ११ र १२ कक्षामा कक्षास्तरीय प्रतिस्पर्धा भयो भने कक्षा १ देखि १० सम्म सदनस्तरीय प्रतियोगिता भयो। गत सातादेखि बढ्दै गएको अत्यधिक चिसो मौसममा पनि फरक–फरक किसिमका खेलकुद प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरु अत्यन्तै उत्साहित देखिन्थे।

प्राथमिक तह सम्मका छात्र–छात्राहरुका लागि हर्डल रेस, सटल रेस, एजिलिटी रेस, स्क्वायस रेस, लेगोरी रेस, चकलेट रेस, स्पुन रेस लगायतका खेलहरुमा विद्यार्थीहरुको सक्रिय सहभागिता रह्यो। हेर्दा सामान्य लागेपनि यि सामान्य खेलहरुले बालबालिकाको मनोबल बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाको विश्वास छ।

प्रतियोगिता शुरु हुनु अघि विद्यालयमै विभाजित अन्नपूर्ण, माछापूच्छ«े, धौलागिरी र सगरमाथा हाउसका विद्यार्थीहरुले विभिन्न किसिमका भेषभुषासँगै रहनसहन र संस्कृति झल्किने झाँकीसहित मार्च पास गरेका थिए। माघे सक्रान्ति नजिकिदै गर्दा विद्यार्थीहरुले थारु संस्कृतिको भेषभुषासँगै तराईमा आस्था र विश्वासका साथ मनाईने छठ पर्व, झिझिया लगायतका संस्कृतिको जगेर्नासँगै नयाँ पूस्तालाई पनि रितिरिवाजको बारेमा जानकारी गराउन मार्चपासमा नौलो प्रयास गरिएको विद्यालयका प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए।
माद्यामिक तह सम्मका छात्र–छात्राहरुका लागि कबड्डी, बास्केटबल, टेनिस, रिल दौड, लङ जम्प, त्रिपल जम्प, हाई जम्प लगायतका प्रतियोगिता आयोजना गरिएको थियो। विद्यालयको वार्षिक कार्यतालिका अन्तर्गत ज्ञानदा एकेडमीले आफ्नै खेल मैदानमा विभिन्न स्तरका खेलकुद प्रतियोगिता आयोजना गरेको एकेडेमीकी सहायक प्रधानाध्यापिका जागृती मिश्राले बताइन्।

ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दिप तुल्स्यानको अध्यक्षतामा भएको खेलकुद प्रतियोगिताको प्रतिनिधि सभा सदस्य बिना जयसवालले दिप प्रज्वलनसँगै बेलुन र परेवा उडाएर उद्घाटन गरेकी थिइन्। प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद जयसवालले खेलकुदले व्यक्तिलाई शारिरीक मात्रै नभएर मानसिक रुपमा पनि स्वस्थ राख्ने बताइन्।

विद्यार्थी जीवनमै आफुले सहभागिता जनाएका अतिरिक्त क्रियाकलापले भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने आफ्नै अनुभव सुनाउँदै उनले थपिन्, ‘विद्यालयमा हुने विभिन्न किसिमका खेलकुदसँगै अतिरिक्त क्रियाकलापमा अर्थपूर्ण रुपमा सहभागिता जनाउन आवश्यक छ । जित्नु आफ्नो ठाउँमा होला तर सहभागि मात्रै भएर पनि धेरै कुरा सिक्न पाइन्छ।’ ‘मैले पनि धेरै कार्यक्रममा सहभागीता जनाएकी छु। जसका प्रमाण पत्र र मेडलहरु अहिले पनि मसँग छन् र ति सबै मेरा अचल सम्पती हुन्’, उनले भनिन्।

अतिरिक्त क्रियाकलापलाई जोड दिएकोमा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै उनले अध्ययनसँगै अन्य गतिविधिमा पनि सहभागिता जनाउनका लागि आफ्ना सन्तानलाई सहयोगसँगै प्रेरित गर्न पनि अभिभावकहरुलाई सुझाव दिएकी छिन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले पनि विद्यार्थीहरुलाई सही मार्गमा निर्देश गर्नका लागि खेलकुदको आवश्यक्ता औँल्याए । अझ विशेष गरी माद्यामिक तहका विद्यार्थीहरु बिग्रिने र भड्किएर गलत बाटोमा जान सक्ने जोखिमलाई नियन्त्रण गरी मानसिक र शारिरीक रुपमा पनि सकारात्मक सोच्नका लागि खेलकुद अपरिहार्य हुने डिएसपी गिरीको बुझाई छ।

प्रतियोगिताका बिजयी छात्रछात्रालाई कप, मेडल र प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो। कार्यक्रममा भूूतपूर्व अन्तर्राष्ट्रि खेलाडी जयप्रकाश सर्राफ, एथलेटिक एशोसिएशनका अध्यक्ष विरेन्द्र पटेल, क्रिकेट एशोसियशनका अध्यक्ष दाउद अंसारीसहित विद्यालयका शिक्षक शिक्षिका, पत्रकार, अभिभावक लगायतको उल्लेखय उपस्थिती रहेको थियो।

कार्यक्रमको सहजीकरण ज्ञानदा एकेडमीका शिक्षकद्धय स्वर्णिम क्षेत्री र आकृति थापाले गरेका थिए।

GBR UBS