जनकपुर, १९ पुस। आम सञ्चार प्राधिकरण मधेश प्रदेशले विगत केही महिनायता प्रदेशका जिल्लाहरुमा कार्यरत पत्रकारहरुमाथि धम्की एवम् दुर्व्यवहारका घटनाहरु बढेकोेप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लो पटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाही गर्ने धम्की दिएकोप्रति ध्यानाकर्षष भएको जनाएको हो।
गत पुस १५ गते मधेश प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण समारोहको समाचार सङ्कलनमा खटिएका पत्रकार महतोलाई प्रमुख दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर आक्रमणको धम्की दिनुले प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको जारी विज्ञप्तीमा उल्लेख छ।
‘‘प्रेस स्वतन्त्रताको रक्षा एवम् सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय कार्य भएको छ। ‘प्रमुख दासले अघि पनि अन्य सञ्चारकर्मीहरुमाथि हातपात एवम् दुर्व्यवहार गरेको जानकारी प्राप्त भएकोले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सम्वन्धित निकायसँग आग्रहसहित ध्यानाकर्षण गराउन चाहन्छौं; विज्ञप्तिमा भनिएको छ।
मधेश प्रदेशका पत्रकारहरुलाई शान्तिपूर्ण एवम् भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति गम्भीर बन्न विज्ञप्तीमार्फत सुरक्षा संयन्त्रसँग आग्रह गरेको छ।