सिरहा, १४ पुस। जनप्रतिनिधीकै मिलेमत्तोमा अवैध माटो उत्खनन् गरिरहेको अवस्थामा २ वटा ट्रक र १ वटा जेसीवी प्रहरीले नियन्त्रणमा लिएको छ। गोलबजार नगरपालिका ७ चोहर्वास्थित सामुदायीक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजीकैबाट अवैधरुपमा माटो उत्खन गरिरहेको अवस्थामा प्रहरीले बा. १ क ७३२९ र ना. २ क ९ नम्वरको ट्रक र ज. १ क. ४९४ नम्वरको जेसीभी नियन्त्रणमा लिएको हो।
प्रहरीले खहरेजस्तो देखिने स्थानबाट १० फिटभन्दा बढी गहिरो खाडल खनिरहेको अवस्थामा सवै गाडी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए।
माटो उत्खनन्का कारण विद्यालय समेत जोखिममा पर्ने स्थानीयको भनाई रहेको छ। सानो खोल्सोको डिलमा रहेको विद्यालयनजीकबाट जथाभावी माटो निकाल्दा विद्यालयलाई पनि असर गर्ने स्थानीय युवाहरुले बताए। उनीहरुले भने, ‘मापदण्ड र अनुमति विना नै निश्चित व्यक्तिको स्वार्थमा विद्यालय नै धरापमा पर्नेगरी माटो उत्खनन् भईरहेको छ, यसलाई रोक्नु पर्छ।’
नगरकै योजनाको काममा प्रयोग भईरहेको माटो अवैधरुपमा उत्खनन् हुँदा पालिकाको दोहोरो करछलि भएको स्थानीय युवाहरु बताउँछन्। यसरी दर्ता नभएको खानी वा जमिनबाट माटोखरिद माटो, ग्र्याभेल खरिद गर्दा राजश्व छलि हुन्छ नै यो सँगै उपभोक्ताले सस्तोमा किनेर महगोको विलहाल्न पाउने सुविधापनि रहन्छ।
वडा अध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्वरी जमिनबाट माटो ल्याएको बताए। उनले भने, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्वरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन्, नजिकै भेटेकाले ल्याएछ।’
नगरपालिकाको श्रममुलक कार्यक्रम निर्माण कार्य (एलआईपी) कार्यक्रम अन्तर्गत गोलबजार नपा ७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङ कार्यका लागि २० लाख रकम छुट्याएको छ।
सम्झौता नगरी कामसुरु
अधुरो सामुदायिक भवन फिनिसिङ कार्य उपभोक्ता समितिले नगरपालिकासँग कामको सम्झौता गर्नु अगाबै काम सुरु गरेको छ। गोलबजार नगरपालिकाका रोजगार संयोजक सुरेश ठाकुरले समिति गठन भएको सुनेपनि आधिकारीक रुपमा फाईल आफूसम्म आईनसकेको बताए। सम्झौता र कार्यादेश भएको छ ? भनि सोधेको प्रश्नमा उनले भने, ‘फाईल नै आएको छैन, फाईल नआई सम्झौता र कार्यादेश कसरी हुन्छ?’ भन्दै उल्टै प्रतिप्रश्न गरे।
वडा अध्यक्ष हरिशरण ठाकुरले केहि दिन पहिला सर्वदलिय सर्वपक्षिय वैठक बसेर समिति गठन गरेपनि अझै आधिरीक जानकारी नआएको बताए। उनले भने, ‘बैठकबाट समिति गठन भईसकेको छ, समितिमा को को छ भन्ने मैले जानकारी लिनुपर्छ, त्यही समितिले काम गरेको होला।’
पालिकाबाट योजना सम्झौता र कार्यादेश नै नलिई काम सुरु गरेकोमा स्थानीयले धेरैथरीका आशंका व्यक्त गरेका छन्।