सिरहा, ६ पुस। सिरहाको अर्नामा गाउँ पालिकाका जनप्रतिनीधिले स्वयम्सेवक शिक्षकको नाममा आफ्नो आफन्तलाई जागिर दिएको पाइएको छ। पालिका अध्यक्ष सहितका जनप्रतिनिधीले ४ वटा विद्यालयमा ८ जना स्वयम्सेवक शिक्षकको नाममा आफन्तलाई जागिर दिएको पाईएको हो।

ginlyanda 333

अर्नामा गाउँ पालिकाका ५ स्थित आधारभुत विद्यालय कृष्णपुरमा गाउँ पालिका अध्यक्ष अशोक कुमार यादवको ठाडो आदेशमा दुई जना शिक्षकले गत भदौ देखि कामगरिरहेका छन्। उनीहरुले भदौ र असोज गरी दुई महिनाको तलव समेत पाईसकेका छन्। तर उनीहरुलाई न त विद्यालय न त गाउँ पालिकाले औपचारिक न्यूयुक्ति दिएको छ। दुईजनामध्येय एकजना पालिका अध्यक्ष यादवका आफन्त र अर्को वडा अध्यक्षका आफन्त रहेको स्थानीयले बताए।

दुवै जनालाई अध्यक्ष यादवको मौखिक आदेशको भरमा तलव दिएको विद्यालयका प्रधानाध्यापक रोहित कुमार यादवले बताए। उनले भने, ‘गाउँ पालिका अध्यक्षले अहिले काम गर्न दिनुस्, उहाँहरुको सवै प्रकृया पुराभएको कागज पालिकाले पठाउँछ भन्नुभयो, काम गर्न दियौं, दशैंको मुखमा फोनमा अहिले तलव दिनुस विदापछि कागज पठाउनलाईदिन्छु भन्नु भयो, तलव पनि मौखिक आदेशमा ख्वाएँ।’

‘अहिले विद्यालयलाई प्रकृया पुर्याएर तलव खुवाउन पालिकाबाट जनप्रतिनिधी र कर्मचारीहरु समेतको दवाव आईरहेको छ, विद्यालय व्यव्स्थापन समितिले मानिरहेको छैन्, म समस्यामा परेको छु; प्रअ यादवले भने।

प्रअ यादवले आएका शिक्षकमध्येय एकजनाको आधारभुत शिक्षकको योग्यता भए नभएकोमा समेत संका व्यक्त गरे। उनले नाम शिक्षकको नाम नबताएपनि एकजनाले १२ कक्षा पास नै नगरेको बताए।

विद्यालय व्यवस्थापन समितिका सदस्य संजय यादवले पनि शिक्षक पालिकाले पठाएको बताए। उनले पालिकाले २ लाख अनुदानसँगै शिक्षक पनि पठाएको बताए। अहिले पालिकाले शिक्षक पठाउने अनि हामीलाई प्रकृया पुर्याएर तलव खुवाउन भनिरहेको छ। यो गलत प्रकृया हो।
त्यसै गरी, माध्यमिक विद्यालय अर्नमामा, आधारभुत विद्यालय महेशपुर धोक्रे र मा.वि. कृष्णपुरमा दुई दुई जनाका दरले शिक्षक पालिकाले पठाई दिएका छन्।

विद्यालयमा अपुग भएको शिक्षक पालिकाले पठाएको भनेपनि उनीहरुलाई अहिलेसम्म पालिका वा विद्यालय कसैले पनि औपचारिक न्यूक्ति दिएका छैनन्। तर उनीहरुले तलव भने जनप्रतिनिधीको ठाडो आदेशमा प्रतिमहिना २१ हजारका दरले खाई रहेका छन्।

मा.वि. अर्नामाका प्रधानाध्यापक मदन यादवले स्वयम्सेवक शिक्षक भनेर पालिकाले पठाई दिएको जनाए। त्यहाँबाट आएको मौखिक आदेशकै भरमा शिक्षकहरुलाई तलव खुवाई रहेको प्रअ यादवले बताए। उनले विद्यालयले शिक्षकलाई तलव खुवाएपनि नियुक्तिको विषयमा केही नसोचेको बताए।

गाउँ पालिका शिक्षा शाखा प्रमुख नथुनी साहलेभने, नियुक्ति नगरीकन कुनै पनि व्यक्तिलाई तलव सुविधा दिनुभनेको गैरकानुनी भएको बताए। उनले भने, ‘शिक्षक अभाव रहेको विद्यालयमा न्यूनतम पारिश्रमिक दिनेगरी प्रकृया पुरागरेर शिक्षक राख्न पाउने सुविधा गाउँ पालिकाले दिएको छ। तर, त्यसको लागि सवै प्रकृया विद्यालयले पुरा गर्नु पर्छ, त्यसो नगरेको भए भोली समस्या आउन सक्छ।’

उनले भने, ‘प्रकृया पुर्याउने काम प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको हो। शाखाले आवश्यक सहयोग गर्छ।’

पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्द सिंहले पनि शिक्षक राख्ने सम्पूर्ण प्रकृया विद्यालयले नै पुरा गर्नु पर्ने बताए। उनले भने, ‘हामीले शिक्षक अभाव भएका विद्यालयका लागि भर्ना गर्न पाउने सुविधामात्रै दिएको हो। सवै निर्णय विद्यालय आफैले गरेको हुनुपर्छ।’ उनीहरुको तलव भत्ताबापत पालिकाले आन्तरिक स्रोतबाट एकमुष्ट रुपमा अनुदान रकम पठाएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए।

गाउँ कार्यपालिकाले गत जेष्ठमा वसेको बैठकले स्थायीरुपमा शिक्षक पुर्ति नभएसम्म वा शिक्षक स्वयम् सेवक भर्ना नभएसम्म विद्यमान यस गाउँ पालिकामा शिक्षक अभावका कारण पठन पाठन हुन नसक्ने कक्षा सन्दर्भमा विद्यालयले गाउँ पालिकासँग समन्वयगरी दक्ष, योग्य शिक्षक न्यूनतम पारिश्रमिक प्रति घण्टी मासिक तीन हजार दिने र अर्को व्यवस्था नभएसम्मको लागि मात्र प्रतिस्पर्धाको आधारमा विद्यालयले खटाउने र निजले गरेको कामकाजको प्रतिवेदन र विद्यालयको सिफासिरसको आधारमा गाउँ पालिकाले निकासा दिने निर्णय गरेको छ।

गाउँ पालिकासँग समन्वयगरी दक्ष, योग्य शिक्षक न्यूनतम पारिश्रमिक प्रति घण्टी मासिक तीन हजार दिनेगरी प्रतिस्पर्धाको आधारमा विद्यालयले खटाउने भनेपनि आठै जना शिक्षक पालिकाबाट पठाइको प्रअहरुले बताए।
आधारभुततहमा भर्ना भएका शिक्षकहरुले ७ घण्टीका दरले २१ हजार तलव बुझेका छन्। पाँच घण्टीमात्र पढाएपनि उनीहरुले ७ घण्टी बराबरको तलव बुझेको प्रअहरु बताउँछन्।

यसले निर्वाचनमा गरेको प्रतिबद्धता पुरागर्न आफ्नो आफन्तहरुलाई जागिर दिएको स्थानीयको आरोप छ।

गाउँ पालिका अध्यक्ष अशोक यादवले शिक्षामा सुधारको लागि हामीले कानुन वनाएरै शिक्षक भर्ना गरेको बताए। उनले भने, ‘हामीले शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन कानुन बनाएरै जनशक्ति पुरा गर्ने निर्णय गरेका छौं, बाँकी प्रकृया विद्यालयले पुर्याउने हो, मैले मौखिक रुपमा राख्न दवाव दिएको छैन, पठाएको पनि छैन।’