सूर्य वि.क.
वीरगञ्ज, ३ पुस। वीरगञ्जका एक विद्यार्थीले ‘थ्रि डी’ प्रिन्टरको आविष्कार गरेका छन्। वीरगञ्ज महानगरपालिका १३ राधेमाईस्थित साउथ जोन माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय आशुतोष कुमार झाले थ्रि डी प्रिन्टरको आविष्कार गरेका हुन्।
वीरगञ्ज महानगरपालिका १५ लक्ष्मणवा निवासी आशुतोषले १८ हजारको लागतमा घरमै उक्त प्रिन्टर निर्माण गरेका हुन्। चाइनिज फिल्ममा थ्रि डी प्रिन्टर देखिसकेपछि उनलाई पनि त्यस्तै प्रिन्टर बनाउने उत्सुक्ता भयो। त्यही उत्सुक्तालाई मेटाउन उनले आवश्यक पर्ने सामानको जोहो गर्न थाले। सामान जोहो गर्न उनलाई दिदीको सहयोग पनि महत्वपूर्ण रह्यो। सबै सामाग्रीको व्यवस्थापन भइसकेपछि उनले थ्रि डी प्रिन्टर निर्माणका काम थालनी गरे। करिब १ महिनामै उनले यसमा सफलता हाँसिल गरे।
यस यन्त्र निर्माणमा उनले स्टेपर मोटर, माइक्रो प्रोसेसर (अर्डिनो मेगा), फिलामेन्ट, सिडी ड्राइभको मोटरसहित ए फोर साइजको पूरानो प्रिन्टरको केही भागलाई प्रयोग गरेका छन्। यस प्रिन्टरलाई उनले प्रोन्टर फेस नामक सफ्टवैयरबाट नियन्त्रण गर्छन्। साथै लेयरहरुमा काट्न र मिलाउनका लागि उनले अल्टिमेकर कुरा नामक सफ्टवैयर प्रयोग गर्छन् भने टिब्कर कार्ड सफ्टवैयरबाट उनले थ्रि डी डिजाइन बनाउँछन्।
आशुतोषले यसअघि पनि मोशन सेन्सर लाईट, इलेक्ट्रोनिक कार, भ्याकिम क्लिनर, स्मार्ट स्ट्रिट लाइट लगायतका यन्त्र पनि निर्माण गरिसकेका छन्। बुबा सुरेन्द्र कुमार झा र आमा रेखा कुमारी मिश्राका ४ सन्तानमध्ये सबैभन्दा कान्छा र एक्ला छोरा हुन् उनी। आशुतोषकी ३ जना दिदी छन्।
जसमध्ये एक जना दिदी अस्मिता कुमारी झा सफ्टवैयर ईन्जिनियर हुन् भने अरु दुई जना दिदीहरु अंकिता कुमारी झा र खुशी कुमारी झा क्रमश आर्टिफिसियल इन्टिलीजेन्स इन्जिनियरीङ र कम्प्युटर इन्जिनियरीङ अध्ययनरत छन्। ३ जना दिदीहरु इन्जिनिरीङ क्षेत्रमै आवद्ध भएपछि आशुतोषलाई पनि आफ्नो रुचीको क्षेत्रमा सहयोग मिलीरहेको छ। साथै परिवारबाट पनि पूर्ण रुपमा समर्थन भएको आशुतोष बताउँछन्।
उनले थ्रि डी प्रिन्टर बनाएको खबरले साउथ जोन मावि परिवार पनि उत्साहित छ। साउथ जोन माविका सहायक प्रधानाध्यापक अशोक सँग्रौलाले खुशी व्यक्त गर्दै भने, ‘हामीलाई पनि थाहा नदिएर बनाएका रहेछन्, अहिले थाहा भएपनि हामीले यसको बारेमा सबैलाई बताउन सघाइरहेका छौँ।’ विद्यालयले पनि विद्यार्थीहरुको रुचीअनुसारको क्षेत्रमा सहयोग गरीरहेको बताउँदै उनले आशुतोष विज्ञान, आविष्कारसँगै पढाईमा पनि अब्बल विद्यार्थी रहेको बताए।