सूर्य वि.क.
वीरगञ्ज, २ पुष। पर्साको धोबिनी गाउँपालिका निवासी आकाश यादव एकदिन विद्यालय जान्छन् भने अर्काे दिन विदामा बस्छन्। धोबिनी गाउँपालिका वडा नम्बर १ भिखमपुर पिपरास्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी केही महिनादेखि यसरी नै विद्यालय जान्छन् । आकाश मात्रै हैनन्, त्यस विद्यालयमा कक्षा ९ सम्म पढ्ने सबै विद्यार्थीहरु एकदिन विद्यालय जान्छन् भने अर्काे दिन विदामा बस्छन्।
कक्षा १ देखि ९ सम्मका जोर रोल नम्बर भएका विद्यार्थी विद्यालय जाँदा बिजोर रोल नम्बर भएका विद्यार्थीहरु विदामा बस्छन् भने बिजोर रोल नम्बरका विद्यार्थी विद्यालय जाँदा जोर रोल नम्बर भएकाहरु विदामा बस्छन्। एकदिन जाने र अर्काे दिन नजाने गर्दा पाठ्यक्रम नसकिनेमा यादव चिन्तीत छन्। अन्तिम परीक्षा आउन ३ महिना मात्रै बाँकी रहेको अवस्थामा शिक्षक र कक्षाकोठा अभाव हुँदा समस्या भएको यादव बताउँछन्।
१६ सय भन्दा धेरै विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा धोबिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाका विद्यार्थीहरु अध्ययनका लागि आउँछन् । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा १२ वटा कोठा छन्। १२ कोठामा १६ सय विद्यार्थी अटाउन मुस्किल भएकाले आलोपालो गरेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक बिनय कुमार पटेलले बताए।
विद्यार्थी संख्या धेरै भएपछि कोठाको अभावलाई मध्यनजर गर्दै ४ कोठे भवन निर्माणको काम अन्तिम चरणमा रहेको धोबिनी गाउँपालिकाका शिक्षा शाखा संयोजक बृजकिशोर त्रिपाठीले बताए। उनका अनुसार फेरी ४ कोठे भवनका लागि संघिय सरकारले ४५ लाख बिनियोजन गरीसकेको छ। यि दुवै भवन निर्माण सम्पन्न भएपछि कक्षा कोठा अभावको समस्या समाधान हुने त्रिपाठीले बताए।
कक्षा ११ र १२ को बिहानी सत्रमा कक्षा हुन्छ भने १ देखि ९ कक्षासम्म आलोपालो गरेर पढाई हुने वडा नम्बर १ का वडाअध्यक्ष बन्धु सा तेलीले पनि स्विकार गरे। नियमविपरित नै भएपनि केही समयका लागि जोरबिजोर प्रणालीबाट कक्षा सञ्चालन भइरहेको बताउँदै वडाअध्यक्ष तेलीले १ महिनाभित्र समस्या समाधान हुने दावी गरे। दशै, तिहार, छठसँगै निर्वाचन लगायतका कारण भवन निर्माणको कामले निरन्तरता नपाउँदा समस्या भएको उनको स्पष्टोक्ति छ।
सरकारले दरबन्दी नदिँदा विषयगत शिक्षकको अभावमा पनि आलोपालो गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ। धोबिनी गाउँपालिकामा पर्ने विद्यालयमा जगरनाथपुरका विद्यार्थी पनि अध्ययनका लागि आउने भएको हुँदा त्यस गाउँपालिकासँग पनि शिक्षक व्यवस्थापन र कक्षा कोठा थप्नका लागि सहयोग माग्दा एउटा गाउँपालिकाले अर्काे पालिकालाई दिन नमिल्दा एक्लै गर्न नसकिएको गाउँपालिका अध्यक्ष मदन चौहानको भनाई छ।
आन्तरीक स्रोतबाट शिक्षक नियुक्तका लागि विज्ञापन गर्ने प्रक्रिया पनि अघि बढेको चौहानले बताए। उनका अनुसार मंसिर ११ गतेको बैठकले विज्ञापन गर्ने निर्णय गरिएको हुँदा एकसाताभित्रै विज्ञापन गर्ने तयारी छ। विज्ञापन गर्दा पनि सबै शहर केन्द्रित हुने भएकाले गाउँमा राम्रो शिक्ष नपाइने समस्या भएको पनि उनले बताए।