सिरहा, २२ मंसिर। पत्रकारमाथि अभद्र व्यहार गरेको भन्दै सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको मुल गेटमा पत्रकारहरू धर्नामा बसेका छन्। पत्रकारलाई कुटपीट गर्ने नवराजपुर गाउँपालिका अध्यक्षका छोरासहित तीनजनाविरुद्ध कारबाहीको माँगसहित प्रहरी कार्यालय पुगेका पत्रकारहरूलाई प्रहरीले पनि अभद्र व्यवहार गरेको भन्दै धर्नामा बसेका हुन्।
महासंघका जिल्ला शाखा अध्यक्ष मनोज बनैताले सार्वजनिक बिदाको दिन सरकारी मोटरसाइकल चढेको विषयमा सोधखोज गर्ने पत्रकारलाई कुट्ने गाउँपालिका अध्यक्षका छोरासहित तीनजनामाथि कारबाही र पत्रकारमाथि अभद्र व्यवहार गर्ने प्रहरी निरीक्षक कृष्ण खत्रीउपर कारबाही नभएसम्म धर्ना जारी रहने बताएका छन्।
गाउँपालिका अध्यक्ष शिवउदगार यादवको दबाब र प्रभावमा परेर कुटिएका पत्रकारले दिएको जाहेरीसमेत दर्ता नगरी प्रहरी निरीक्षकले उल्टै पत्रकारहरूलाई अभद्र व्यवहार गरेकाले बाध्य भएर प्रहरीकै गेटमा धर्ना बस्नुपरेको अध्यक्ष बनैताले बताए।
१२ मंसिरको अपराह्न सखुवानन्कारकट्टी गाउँपालिका ५ इटहर्वामा लागेको विवाहपञ्चमी मेलामा नवराजपुर गाउँपालिका अध्यक्षका छोरा नवराजपुर २ मझौरका २० वर्षीय चन्दन यादव र १९ वर्षीय अमित यादव तथा २ नम्बर वडा बस्ने १८ वर्षीय पप्पु यादवको समूहले पत्रकार प्रदीप कुमार महतोलाई कुटपिट गरेको थियो।
पत्रकार महतोले आरोपी तीनजना प्र. २–००१ ब ०३२३ नम्बरका सरकारी मोटरसाइकल चढेको देखेपछि फोटो खिच्न खोज्दा गाउँपालिका अध्यक्षको छोरा हुँ भन्दै कुटपिट गरेको बताए।
कुटपीटपछि कारबाहीको मागसहित जाहेरी दिएको भए पनि प्रहरीले दर्तासमेत गर्न नमानेको महतोको गुनासो रहेको छ।