वीरगञ्ज, १३ मंसिर। परिवारभित्र सामान्य मतभेद भएपनि ‘मनभेद’ हुन नहुनेमा बरिष्ठ पत्रकार एवम् विश्लेषक चन्द्रकिशोर झाले जोड दिएका छन्। मार्वाडी महिला मञ्च र जैन श्वेताम्बर तेरापंथीसभाद्वारा सयुँक्त रुपमा वीरगञ्जमा आयोजित ‘सुखी परिवार सम्पन्न परिवार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै झाले सामान्य मतभेद हुनु स्वभाविक भएपनि मनभेद हुँदा पारिवारीक सम्बन्धमा खलल पुग्ने बताए।
असमझदारी र शंकाले नै परिवारमा कलह उत्पन्न हुने र सुखी परिवार बन्न नसक्ने तर्क गर्दै झाले भने, ‘विगतका दिनहरुमा सबै परिवार एकै ठाउँमा बस्ने परिपाटी भएपनि अहिले परिवारको परिभाषा फेरिएको छ । केही समय अघिसम्म हामीले आफ्नै गाउँ समाजलाई परिवार मान्थ्यौँ। तर अचेल त परिवारको परिभाषा नै फेरिएको छ।’
परिवारभित्रका सदस्यहरुबिचको आपसी समझदारी र सहकार्यले नै सुखी परिवार बन्न सक्ने उनको बुझाई छ। अहिले सम्पन्नता बढ्दै गएपनि सुख भने हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्।
परिवारभित्रका सदस्यहरुले एकअर्काको प्रगतीको प्रसंशा गर्दै कमजोरीहरुलाई सहर्ष स्विकार गर्न सकेमा परिवार सुखी बन्ने विश्लेषक विपुल प्रज्ञाको टिप्पणी छ। अग्रजको सम्मान र सत्कारका साथै अनुजलाई माया र स्नेह भएपछि त्यो परिवार नै खुशी र सुखी हुने उनले बताए। प्रेम, सद्भाव र सामन्जस्यता भएको घर परिवार सुखी र सम्पन्न बन्ने बताउँदै कलह र रिसरागलाई त्याग्नुपर्ने अर्का वक्ता आदर्श प्रज्ञाको भनाई छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जैन श्वेताम्बर महासभा नेपाल बिहार झारखण्डका उपाध्यक्ष एवम् नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैद्यले भने, ‘अहिले समाजले विभिन्न किसिमका चुनौतीहरुको सामना गरीरहेको छ यस्तो अवस्थामा परिवारभित्र विभिन्न किसिमका मनमुटावहरु पनि देखिने गरेका छन्। तर यसलाई सबैले गम्भिरताका साथ लिन आवश्यक छ।’ परिवारभित्रका असमझदारीहरुलाई चिर्दै विश्वास कायम गर्न सकेमा खुशी र सुखी बन्न सकिने वैद्यको भनाई छ।