जनकपुर, १२ मंसिर। रामसीता विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुभकामना दिँदै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको बताए। जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ।
सीताराम विवाह पञ्चमी महोत्सवमा आउने तीर्थयात्रीको बास तथा भिडलाई ध्यानमा राखेर विद्यालयमा सार्वजनिक बिदा दिइएको हो।
खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम पुग्ने क्रम केही दिन अघिदेखि चलिरहेको छ। तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि दिनमा तीन पटक सञ्चालनमा ल्याइएको छ। सीताराम विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म हरेक दिन तीन पटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले बताए।
कम्पनीले आइतवार, सोमवार र मङ्गलवार भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजे तथा साढे ३ बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ। जनकपुरधामबाट बिहान पौने ११ बजे दिउँसो १ बजेर ४० मिनेटमा र बेलुका सवा ५ बजे जयनगरका लागि रेल छुट्ने प्रबन्ध सञ्चालक झाले बताए।