सूर्य वि.क.
वीरगञ्ज, ६ कार्तिक। झिलिमिली बत्तीले सजिएका घर । तिहारको रौनक, बजारमा किनमेल गर्नेहरुको भिड । वीरगञ्ज बजारको रातिको दृश्य अत्यन्तै सुन्दर देखिन्छ।
हुन त हरेक वर्षको दिपावलीमा यस्तै मनमोहक दृश्य देख्न पाइन्छ । नयाँ नयाँ कपडामा सजिएका मान्छे र झिलिमिली बत्तीले सजिएका घरले तिहार कहिलै नसकिए हुन्थ्यो भन्ने लाग्छ। वीरगञ्जको आदर्शनगर क्षेत्रमा हरेक वर्षको तिहारमा आकर्षक ढंगले सजाइएको हुन्छ । यसपटक पनि ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले सजाएर झकिझकाउ बनाएको छ।
‘तिहारमा नयाँ नयाँ कपडा लगाएर मानिसहरु घुमघाम गर्छन् तर घुम्नका लागि कुनै ठाउँ हुँदैन । अँझ फोटो स्टुडियोमा गएर फोटो खिचाउनुपर्ने बाध्यता हुन्छ’, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान थप्छन्, ‘त्यही अवस्थालाई मध्यनजर गर्दै हामीले सेल्फी स्ट्यान्ड बनाएका छौँ। तिहार सम्बन्धी सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौँ।’
दिपावलीको महत्व नयाँ पुस्तालाई बुझाउन र परम्परालाई जोगाउनका लागि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले ४ वर्षदेखि यसलाई निरन्तरता दिँदै आएको अध्यक्ष खेतान बताउँछन्। खानाका पारखीहरुका लागि विभिन्न किसिमका परिकारहरुसहितको फुड स्टल पनि त्याहाँ राखिने खेतानले बताए।
झिलिमिल बत्ती, हावामा बत्तीबाट बन्ने विभिन्न किसिमका आकृति, फुड स्टल सांस्कृतिक कार्यक्रमका साथै सेल्फी स्ट्याण्डले त्याहाँ आउने पाहुनाहरु खुशी हुने उनको विश्वास छ । केन्द्रका पदाधिकारी, सदस्यसँगै आफ्नै साथिभाईको सहयोगबाठ संकलित करिब साढे ३ लाखदेखि ४ लाखको हाराहारीमा सजावट तथा व्यवस्थापनमा खर्च भएको खेतानले बताए।
बजारमा चहलपहल
वीरगञ्जमा दीपावली र छठ पर्वका लागि किनमेल गर्नेको भीड बढेको छ। शनिबारदेखि नेपाली हिन्दुहरुको दोस्रो ठूलो पर्ब तिहार अर्थात यमपञ्चक सुरु भएसँगै बजारमा किनमेल गर्नेको भिड बढेको हो।
वीरगञ्जसहित मधेसमा दिपावली र लक्ष्मी पूजा पर्व निकै धुमधामका साथ मनाइन्छ । शनिबार देखि तिहार सुरु भएसँगै वीरगञ्जको बजारमा दीपावली र लक्ष्मी पूजाका लागि चाहिने सरसामान किनमेल गर्नेहरुको चहल पहल बढेको छ।
दीपावली र लक्ष्मीपूजालाई लक्षित गरि झिलीमिली बत्ती, माटाका दियो र कलश, लक्ष्मी देवीको मूर्ती र तस्वीर, फुल माला, पूजन सामाग्री लगायतका पसलहरु सडक छेउ र फुटपाथमै विक्रीका लागि राखिएका छन्।
दिपावलीमा भगवानलाई प्रसाद चढाउने र आफै पनि खाने भएका कारण मिठाइ पसलहरुमा पनि ग्राहकको चहल पहल बढि नै छ ।
तिहार सुरक्षा व्यवस्था कडा
जिल्ला प्रहरी कार्यालय पर्साले दिपावलीको अवसरमा हुन सक्ने अवाञ्छनीय गतिविधि नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । दिपावलीको अवसरमा अमर्यादित एवम् असभ्य क्रियाकलाप हुन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले बताए।
जथाभावी रुपमा पटाका पड्काउँदा आँखामा क्षति हुनुका साथै आगलागीसमेत हुन सक्ने जोखिम भएकाले धनजनको क्षति एवम् स्वास्थ्य सतर्कता अपनाएर मात्रै सुरक्षित रुपमा सामान्य किसिमका पटाका पड्काउन उनले आग्रह गरेका छन्।
यसका साथै तिहारको अवसरमा चोरी एवम् डकैतीको सम्भावना पनि बढी हुने भएकाले आफ्नो घरसँगै धन एवम् सम्पतीको सुरक्षा गर्न पनि बस्नेतले सचेत गराएका छन्।
तिहारमा अमानवीय गतिविधि हुन नदिनका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले जानकारी गराएका छन् । म्यादी प्रहरीको तालिम पनि सकिएको हुँदा म्यादी प्रहरीलाई पनि परिचालन गरिने उनले बताए।
अस्तव्यस्त ट्राफिक
शुक्रवार साँझ किनमेल गर्न वीरगञ्ज राधेमाईका दिपेन्द्र जैसवाल बजार निस्किए । उनी किनमेल गरेर साँझ ७ बजे घर फर्किदै थिए । वीरगञ्जको माईस्थानदेखि घण्टाघरसम्मको लगभग ४ सय मिटरको दुरी पार गर्न उनलाई आधा घण्टा लाग्यो।
मोटरसाइकलमा सामान्य अवस्थामा उक्त दुरी पार गर्न २ मिनेट पनि १ मिनेट पनि लाग्दैन। तर अहिले चाडवाडको चहलपहलका कारण ट्राफिक अस्तव्यस्त हुँदा त्यति दुरी पार गर्न आधा घण्टा लागेको उनले बताए। सिंगल लेनको सडकमा हरेक चाडवाडमा यही समस्या दोहोरिन्छ। यद्यपी पर्याप्त मात्रामा पार्किंगको अभाव हुँदा सिंगल लेन सडकमा पनि सडकैभरी मोटरसाइकल पार्किंग गरिएको हुन्छ।
जसका कारण झन जामको समस्या बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहालले बताए। ट्राफिक अस्तव्यस्तको समस्या जिल्ला ट्राफीक प्रहरीले मात्रै चाहेर समाधान हुन नसक्ने उनको भनाई छ। त्यही पनि ट्राफिक प्रहरीले गर्न सक्ने काममा कुनै कसर बाँकी नराखेको उनले बताए ।
तिहारमा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र तिव्र गतिमा तथा क्षमताभन्दा बढी यात्रु नराख्न पनि उनले आग्रह गरेका छन्।