करिब चार पुस्तादेखि सडककिनारको ऐलानी जग्गामा बस्दै आएका १२ घरधुरी सुकुमबासी हरवा–चरवाहरू बस्ती सुरक्षाका लागि नगरका मेयर, कार्यपालिका सदस्य, स्थानीय जनप्रतिनिधिसँग भेटेर गुहार मागिरहेको स्थानीय पीडित ६० वर्षीय रामजी सदायले बताए।

‘मेयरले सुकुमबासी बस्तीलाई विकल्पसहित अन्य ठाउँमा स्थानान्तरण गरेपछि मात्र सडक विस्तार गर्ने भन्नुभएको छ,’ सदायले भने, ‘तर, सडक निर्माण गर्नेहरूले बिहान–बेलुका नै घर भत्काउँछौँ भनिरहेकाले अप्ठ्यारोमा परेका छौँ।’

DHANAGADI 01

ओत लाग्ने झुपडी बनाउन कतै ठाउँ नपाएपछि करिब चार पुस्तादेखि धनगढीमाई नगरपालिका १ र ११, छपराढी बजारसँगै करिब एक सय मिटर दक्षिणतर्फ सडकसँगै पूर्वपट्टि टाँसिएको ऐलानी जग्गामा १२ घरधुरी सुकुमबासी हरवाचरवा परिवार बस्दै आएका छन्। 

बस्तीकी सुकुमबासी एकल महिला करिब २५ वर्षीया निलमदेवी सदाय भन्छिन्, ‘तीन धुर ऐलानी जग्गामा बनाएको झुपडी छ, मजदुरी नगरी तीन छोराछोरी र आफ्ना लागि घरमा चुलो बल्दैन, सडक विस्तारको नाममा हामी गरिब त्रसित अवस्थामा बसिरहेका छौँ।’ 

विकल्पसहित पुनर्स्थापना : मेयर महतो

धनगढीमाईका मेयर शिवशंकर महतोले १२ घर सुकुमबासी बस्तीलाई विकल्पसहित पुनर्स्थापना गरिने बताए। ‘सडक निर्माणकर्ताहरूसँग जहाँ–जहाँ सडकमा नगरको लगानीमा बस्ती निर्माण गरी सुकुमबासीलाई सारेपछि मात्र घर हटाइने कुराकानी भएको छ,’ मेयर महतोले भने, ‘त्यतिन्जेलसम्म बस्तीको कुनै पनि घर हटाइँदैन, सडक क्षेत्रमा घर पर्छ भने त्यसलाई छोडेर सडक बनाइने र बस्ती सारेर मात्र निर्माण सम्पन्न गरिनेछ।’ 

धनगढीमाई नगर कार्यपालिका सदस्य टीकाराम विश्वकर्माले सडक किनारमा बसिरहेका भूमिहीन सुकुमबासी, हरवाचरवालाई सडक विस्तारको नाममा वैकल्पिक व्यवस्था नगरी हटाउन नहुने उल्लेख गरे। 

‘नगर कार्यपालिकाको आगामी बैठकमा नगर क्षेत्रमा त्यस्ता कति परिवार छन्, उनीहरूको संख्या यकिन गरी नगर क्षेत्रको अन्य ठाउँमा रहेको जग्गामा व्यवस्थित गर्ने गरी निर्णय गर्छौँ,’ कार्यपालिका सदस्य विश्वकर्माले भने। 

कटैयामा संघर्ष समिति गठन 

ऐलानी जग्गामा बसिरहेको दलित परिवारमाथि कुटपिट गर्नुका साथै केरा, आँताको बोट काटिदिएपछि सखुवानन्कारकट्टी गाउँपालिका– १ मौवाही कटैयाका गाउँले तथा पीडितले नौ सदस्यीय संघर्ष समिति गठन गरेका छन्।

स्थानीय अगुवा जगमोहनप्रसाद यादवको संयोजकत्वमा गठन गरिएको नौ सदस्यीय संघर्ष समितिमा मञ्चका सखुवानन्कारट्टी अध्यक्ष रतन सदाय, पीडित मनिकलाल राम, स्थानीय जनकवती यादव, श्रीप्रसाद मुखिया, रामनाथ सदाय, रामचन्द्र राम, सीताराम मोची, पानोदेवी सदाय छन्। 

पीडितद्वारा सीतापुर प्रहरी चौकीमा परेको उजुरीको छानबिनको पहल तथा गाउँपालिकामा बस्ती सुरक्षाका लागि ज्ञापनपत्र बुझाउने योजना रहेको समितिले जनाएको छ। 

सखुवानन्कारकट्टी– १ का वडाध्यक्ष सञ्जयकुमार यादवले कटैया गाउँको सुकुमबासी दलित बस्तीको सुरक्षाका लागि सम्पूर्ण गाउँले एकजुट भएर लाग्नुपर्ने र त्यसमा वडा कार्यालयले सघाउने बताए। 

वडाध्यक्ष यादवले वडा तथा गाउँपालिका क्षेत्रमा रहेका अन्य समुदायका भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोवासीको सुरक्षित बसोवासका लागि गाउँ कार्यपालिकाको आगामी बैठकमा प्रसताव राख्ने र पुसमा हुने गाउँसभामार्फत निर्णय गर्ने गरी आफूले पहल गर्ने बताए। 

के भएको थियो कटैयामा ? 

दसेैँको टीकाको भोलिपल्ट गत २० असोजको बिहान करिब ९ बजेतिर स्थानीय अरुण यादव, राजदेव यादव, धिरू यादव, बब्लु यादव, चनरदेव यादव, दुर्गा यादव, राजकिशोर यादवसहितको नौजनाको टोलीले सुकुमबासी बस्तीका मनिकलाल रामकी नौ महिनाकी गर्भवती श्रीमती करिब ३५ वर्षीया परमदेवी राम, उनकी छोरी करिब ११ वर्षीया लक्ष्मीनियाकुमारी रामलाई घरमै आएर कुटपिट गर्नुका साथै गाईलाई घाँसपानी खुवाउने नावर पल्टाएर गाईसमेत खोलेर धपाइदिएको थियो।

नौ महिनाकी गर्भवती श्रीमतीलाई समेत कुटपिट गरिएपछि तत्काल एम्बुलेन्स बोलाएर लहान पुर्‍याएर सप्तऋषि अस्पतालमा दिनभर उपचार गराएको रामले सुनाए। 

नयाँ पत्रिकाबाट।

ab mall