जनकपुर, ३१ असोज। धनुषा प्रहरीले चोरीको मोटरसाइकलसहित फरक–फरक स्थानबाट दुईजना पक्राउ परेका छन्। जिल्लाको शहीदनगर नगरपालिका ५ का २० वर्षीय अजित पासवान र जनकपुरधाम उपमहानगरपालिका ९ का २२ वर्षीय चन्दनकुमार झालाई मोटरसाइकल सहित पक्राउ गरेको हो।
जनकपुरधाम १ बाट चोरी भएको २ प. ७०९९ नम्वरको स्पलेण्डर मोटरसाइकलसहित पासवानलाई जनकपुरधाम उपमहानगरपालिका १० जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो। मौखिक जानकारीपछि खटिएको अनुसन्धान टोलीले पासवानलाई जानकी मन्दिर अगाडी बाटोबाट फत्राउ गरेको जनाएको छ।
यस्तै, जनकपुरधाम जटही सडकमा शङ्कास्पद रूपमा ज. १२ प. २७८५ नम्वरको २२० सि.सि. मोटरसाइकलसहित बसिरहेका झालाई राति खटिएको प्रहरी टोलीले सोधपुछ गरी अनुसन्धान गर्दा सोही दिन राति ११ बजे जनकपुरधाम १३ पिडारी चोकस्थितबाट उक्त मोटरसाइकल चोरी ल्याएको खुल्न गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चोरी गर्न तीनवटा साँचोसमेत बरामद भएको छ। पक्राउ परेका झा र पासवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।