विरगञ्ज, ३१ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका एक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ। आयोगले सेवाग्राहिको गुनासोको आधारमा छापा मारेर घुस रकमसहित जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव पक्राउ गरेको हो।
उनको साथबाट सेवाग्राहीसँग लिएको घुस बापतको पाँच हजार रुपैया बरामद भएको अख्तियारले जनाएको छ।
हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट डीएसपी हेम केसी नेतृत्वमा खटिएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको थियो। सोही क्रममा जग्गा रोक्काको फुकवा गरिदिने काम गर्न सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन्।
सेवाग्राहीसँग घुस बापत माग गरेको पाँच हजार रुपैयासहित यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए। उनका अनुसार अख्तियारको टोलीले मुद्दा शाखाका कागजात परीक्षण गरेको थियो।
घुस रकमसहित पक्राउ परेका यादवलाइ आवश्यक अनुसन्धान र कारबाहीका लागि अखित्यारको टोलीले हेटौंडा नै लिएर गएको छ।