काठमाडांै, २२ असोज। ओखलढुंगास्थित नेकपा एमालेका नेता तथा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको निधन भएको छ। माओवादीले चलाएको जनयुद्धका क्रममा ओखलढुंगाकै उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेर शान्ति प्रक्रियापछि जेल जीवनसमेत बिताएका उनी पछिल्लो समय एमालेमा थिए।
उनको शनिबार बिहान काठमाडौंको जडीबुटीस्थित निवासको बाथरुममा चिप्लिएर लड्दा निधन भएको हो।
घरमा एक्लै रहेका उनको निधनपछि आफन्त र एमाले कार्यकर्ता भेला भइरहेका छन्।
मिर्गौला फेलसहित मुटुकाे समेत समस्या झेलिरहेका उनी एमालेको पोलिटब्युरो सदस्य थिए।
२०६४ को संविधानसभा निर्वाचनमा माओवादीबाट निर्वाचित उनी तत्कालीन नेकपा भंग हुँदा माओवादी छाडेर एमालेमै रहेका थिए।
उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई सर्वोच्च अदालतले २०६६ सालमा सर्वस्वसहित जन्मकैद सुनाएको थियो। जिल्लाको फैसला सदर गर्दै सर्वोच्चले सुनाएको उक्त फैसलाका कारण उनी जेल पुगेका थिए।
तर उनले २०७४ मा आममाफी पाउँदै जेलबाट छुटेका थिए। उनी आफूलाई जेल हालिँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै चासो नदिएको भन्दै रुष्ट थिए।