सिरहा, २९ भाद्र। सरकोकारबाला निकायमा पहुँच वृद्धिगर्ने उद्देश्य सहित सिरहाको धनगढीमाई नगरपालिका ९ नैनपुरमा ‘प्रमाणमा आधारीत हरवाह चरवाहको दिगोपनको लागि जनवकलात’ तालिम सम्पन्न भएको छ। स्थानीय तह, जिल्ला तथा अन्य सरकोकारबाला निकायमा हरवा चरवाहको पहुँच वृद्धिगर्ने उदेश्यले दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको आयोजनामा तालिम सम्पन्न भएको हो।
तालिममा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले आफू समग्र विकासको पक्षमा रहेको बताए। उनले पूर्वाधार निर्माण, सटक, पुल निर्माणमात्र विकास नभएको भन्दै सामाजिक विकासतर्फपनि आफ्नो उत्तिकै चाँसो रहेको बताए।
उनले सामाजिक विकासको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुसँगको छलफल र साझेदारीमा नगरपालिका काम गर्न तत्पर रहेको जनाए। उनले गरिव, दलित, सुकुवासीहरुको समस्याको विषयमा आफू सम्वेदनशिल रहेको समेत उनले सुनाए।
तालिमका सहजकर्ता राजेश कुमार रामले सिरहा सप्तरीमा हरवा चरवाहको अवस्था र उनीहरुलाई पहुँच वृद्धिगर्न कानुन कार्यान्वयन जरुरी रहेको बताए। तालिममा क्रममा उनले ऐन कानुनले देशभरका भूमिहिन सुकुम्वासी तथा हरवा चरवाहलाई एकपटक वसोवासको लागि जमिन उपलब्ध गराउने भनेपनि कार्यान्वयन हुन नसकेको बताए।
तालिमका सहभागीहरुले अझै पनि महिला र पुरुष कामदारबिच बोनि (ज्याला) मा विविभेद, गरिवि र अशिक्षाका कारण थोरै ऋणमा वर्षौं गिरहतकोमा विनाज्याला खटिनुपर्ने बाध्यता, वसोवास र गरिखाने खेतको अभाव जस्ता समस्या सुनाए।
उनीहरुले गरिविका कारण शिक्षामा पहुँच नपुग्दा सधैभरी साहुबाट ठगिनु परेको गुनासो गरे।
कार्यक्रमको लागि अन्तराष्ट्रिय श्रम संगठन, ललितपुरले सहयोग गरेको आयोजकले जनाएको छ।
संस्थाका प्रतिनिधी देवलाल विश्वकर्माले सञ्चालन गरेको तालिममा जिल्लाका विभिनन पालिकाका सामाजिक विकास अधिकृत, हरवा चरवा मञ्चका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।