वीरगञ्ज, २६ भाद्र। पर्सा प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित एकजनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा पर्साको पोखरिया नगरपालिका ९ बैरिया विर्ताका ३५ वर्षीय महम्द रिजवान आलमलाई स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका २ श्रीराम सिनेमा हल पछाडीको गोरेटो सडक खण्डबाट प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उक्त नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।
पक्राउ परेका आलमलाई बरामद नगदसहित जिल्ला प्रहरी कार्यालयमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए।