रामरिझान यादव

हाम्रो छिमेकी मित्रराष्ट्र भारत दुनियाँको अब्बल दर्जाको संसदीय लोकतन्त्र भएको मुलुक कहलाउँछ। दुनियाँको सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्रको रुपमा रहेको आफूलाई गर्व गर्छ। हो पनि, भारतीय संविधान निर्माता डा. बाबासाहेव भीमराव अम्बेदकरले संविधान लेख्दा तमाम लोकतान्त्रिक प्रावधानहरुलाई आत्मसात गरेका थिए। प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार आबधिक निर्वाचान प्रणाली, मानवअधिकारको प्रत्यभूति तथा सबै प्रकारका मौलिक हक जस्तै व्यक्तिगत तथा वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता एवं धार्मिक स्वतन्त्रताजस्ता मूलभूत प्रावधानहरु संविधानमा अन्तर्निहित रहेको छ। तर, सन् १९५२ मा पहिलोदेखि सन् २०१९ सम्म सत्रहौं लोकसभा निर्वाचनको इतिहासलाई केलाएर अध्ययन गर्ने हो भने भारतीय संसदको उत्तराद्र्ध वर्षको स्वरुप तथा संरचना सामान्य भारतीयभन्दा सम्भ्रान्त वर्ग तथा बाहुबलीहरुको अखाडाको रुपमा स्थापित भएको देखिन्छ। प्रधानमंत्री नरेन्द्रदामोदर दास मोदीले सार्वजनिक रुपमा स्वयं स्वीकार गरेको तथ्य हो यो। लोकसभाको कूल ५४३ सदस्यमध्ये २३३ माथि आपराधिक मुद्या विभिन्न अदालतमा दर्ज छन्। २३३ सांसद्मध्ये सबैभन्दा बढी भारतीय जनता पार्टीका छन्। स्वयं मोदी मंत्रीमण्डलका ७८ मंत्रीमध्ये ३३ माथि क्रिमिनल केस अदालतमा चलिरहेको छ। २४ माथि त गम्भीर आपराधिक मुकदमा छ। एक माथि मर्डरको चार्ज छ भने ४ माथि हत्याको प्रयास र डकैतीको मुद्दा छ।

yamaha ab

यसप्रकारको प्रकृति र प्रवृत्ति भारतीय संसदको पूर्वाद्र्ध वर्षहरुमा थिएन भन्ने कुरा आँकडाले देखाउँछ। पं जवाहरलाल नेहरु हुँदासम्म त एकजना पनि थिएन। तर, पछिल्लोकालमा त यसले कतिपय राज्यको विधानसभामा बहुमत नै हासिल गरको छ। उत्तर प्रदेश यसको ज्वलन्त उदाहरण हो। त्यसैले भारतमा वर्षा हुँदा छाता ओढने नेपालको सानैदेखि लागेको बानीको कारण महम्मद अफताब आलम, गणेश लामा तथा चक्रे मिलनहरु जन्मिनु कुनै ठूलो कुरा होइन। यो स्वभाविक हो। अहिले यो क्रम थामिदैन। बरु गति समात्दै जाने तथ्य निर्वाचन प्रणाली दिनप्रति दिन महगो हुँदै गएको कुराले पनि पुष्टि गर्दछ।

संसदमा बाहुबलीको जन्म :
आजभन्दा अढाई हजार वर्ष पहिले विश्वविख्यात दार्शनिक सुकरातले भोंटको राजनीतिलाई नकारात्मक ढंगबाट व्याख्या र विश्लेषण गरेका थिए। उनको सोच अनुसार मताधिकारको प्रश्न मानिसको बुद्धि र विवेकमा अन्तर्निहित हुन्छ। जुन समाजमा ज्ञान, बुद्धी र विवेकको खडेरी छ त्यहाँ यो व्यवस्था बाँदरको हातमा नारियलजस्तै हुन्छ; भन्ने आशयको भनाई दार्शनिक शुकरातको थियो। नेदरलैण्डका प्रधानमंत्रीको पदीय आयु समाप्त भएपछि उसले आºनो कार्यकालको अन्तिम दिन आºनो साइकल चढेर घर फर्केका थिए भन्ने कुरा विश्वले हेरेको र सुनेको तथ्य हो। किनकि, त्यो मुलुकमा जेलसमेत छैन। कुनै आपराधिक घट्ना नै घट्दैन। त्यसैले जेलको आवश्यकता समाप्त भएर गएको छ। यसरी स्केनडेभियन मुलुकहरुमा संसदीय अभ्यासले उच्चता हासलि गरेको बेला भारतको लोकसभा तथा विधान सभा बाहुबलीहरुको अखाडामा रुपान्तरित भएका छन्। तर पनि हिन्दीमा एउटा भनाई छ ‘सौ मे से ९९ बइमान, फिर भी मेरा भारत महान’ ले चरितार्थ गर्दैन र? त्यसमा पनि नेपालको भौगोलिक सीमाना भारतको सबैभन्दा बढी पिछडिएको गरीव, अशिक्षित, न्यून शहरीकरण भएको तथा राजश्वभन्दा पनि कैयौं गुणा बढी ऋण बोकेको, आम्दानीभन्दा नेताहरुले बढी खर्च गर्ने राज्यसंग टाँसिएकोले नेपाली परिवेश त्यसबाट कदापि अछुतो रहन सक्दैन। काश ! नेपालको अन्तर्राष्ट्रिय सीमाना दक्षिणी भारतको कुनै राज्यसंग भएको भए!

yamaha bg तर नेपालको दुर्भाग्य र अझ मधेशको लागि अभिशाप के छ भने पूर्वाद्र्धमा राजनीतिक रुपले उम्दा हैसियत कमाएका विहार र उत्तर प्रदेश अहिले बाहुबलीहरुको लागि उर्वर भूमि बनेको छ। अस्ति भर्खरै विहारका मुख्यमंत्री नितिश कुमारको राजनीतिक फेरबदलको व्यवहारले यस भेकका जनता आहत महसूस गरेका छन्। त्यसमा मधेश प्रदेश त नराम्ररी प्रभावित भएको छ। पहिलेदेखि नै गाँजिएको यस प्रदेशको रौतहट जिल्लाबाट महम्मद अफताब आलम त्यसै जन्मेका होइन। विगत केही वर्षदेखि विहारका विधायक कार्तिक कुमार राजिवरंजन अपहरण मुद्यामा फरार थिए। त्यही केसमा भूपू विधायक आन्नद सिंहसहित १७ जनामाथि मुद्दा अदालतमा चलिरहेको छ। जसको फरवरीमा अदालतले जमानतको याचिका खारेजसमेत गरिसकेको थियो र अगस्त १६ मा हाजिर हुने वारन्ट जारी गरेको थियो। तर उदेक लाग्दो विषय के छ भने जुन दिन विधायक कार्तिकेयलाई अदालतमा हाजिर हुनु थियो त्यही दिन मुख्यमंत्री नितिश कुमारले उनलाई कानून मंत्री नियुक्त गरे। लोकतन्त्रको योभन्दा भद्दा मजाक अर्को के हुन सक्छ? तर जंगलराजको विरोध हुन थालेपछि केही दिनमा नै कार्तिकेयलाई राजिनामा दिनु प¥यो। विधायक कार्तिक कुमार जसलाई कार्तिकेय सिंह पनि भनिन्छ लालू प्रसाद यादवका राष्ट्रिय जनता दलका विधायक हुन्।

यसरी विहारको कूल २४३ विधायकमध्ये १५० जनामाथि अपराधिक मुद्दा अदालतमा विचाराधीन छ। त्यसमध्ये ८९ जनामाथि यस्तो संगीन आरोप छ कि एक पटक पनि अदालतमा सुनवाई भयो भने जेल बाहेक अर्को कुनै विकल्प छैन। उत्तर प्रदेशको अवस्था त झन् कहालिलाग्दो छ। उत्तर प्रदेशको विधान सभामा कूल ४०३ विधायकमध्ये २०५ माथि आपराधिक मुद्या अदालतमा दर्ज छन् । अर्थात् बाहुबलीहरुको बहुमत छ जहाँ योगी आदित्यनाथ मुख्यमंत्रीको रुपमा रहेका छन्।


बाहुबलीको नेपाली संस्करण :
नेपालको पहिलो संसदीय निर्वाचन २०१५ सालमा भएको थियो । त्यतिबेला भारतका प्रधानमंत्री पं जवाहरलाल नेहरु थिए । जसको दोस्रो कार्यकालको दुई वर्ष वितेको थियो। त्यतिबेलाको दुइटै देशको संसदीय अभ्यासलाई व्याख्या र विश्लेषण गर्ने हो भने एक से एक व्यक्ति संसद पुगेको देखिन्छ। जहाँ कहिले कुनै नाजायज ढंगबाट जनतालाई प्रभावित पार्ने काम भएन। २०१५ सालको संसदीय निर्वाचन ताका सिरहाको मिर्चैया बजारमा नेपाल राष्ट्रवादी गोर्खा परिषद्का नेताले स्कूल निर्माणको लागि ५० हजार रुपैया दिन खोज्दा जनताले नलिएको इतिहास छ। तर यसप्रकारको संस्कार र संस्कृति पंचायतकालमा बाखुबी प्रयोगको विषय बन्यो। तत्कालीन प्रधानमंत्री सूर्यबहादुर थापाले बहुदल हराउन जंगल फडानीमात्र गर्न लगाएन भरपूर रुपमा राज्यसत्ताको दुरुपयोग गरे। यसप्रकारको दुरुपयोगको प्रतिफल मुलुकमा भूमिगत गिरोहको जन्म भयो । जसले बाहुबलीको रुपमा मण्डले राष्ट्रवादीहरुलाई तत्कालीन संसद राष्ट्रिय पंचायतमा पठाउन बेसुमार धन खर्चेको इतिहास छ । वास्तवमा भन्ने हो भने भारतीय बाहुबलीको नेपाली संस्करण पंचायतकालको मण्डलेहरुबाट नै सुरुभएका हुन्। जसको नेतृत्व कमल थापादेखि शरदचन्द शाहहरुले गर्थे। लालुप्रसाद यादव विहारको मुख्यमंत्री भएको बेला जसरी शहाबुद्यीनजस्ता बाहुबलीहरुले जेलबाट हत्या र हिंसाको खेल खेल्थे ठीक त्यसरी नै पंचायतकालमा मण्डलेहरुले सरोज कोइराला र रघुनाथ ठाकुर मधेशीजस्ता क्रान्तिकारीहरुलाई भारत पसेर हत्या गर्थे। पंचायतभित्रै रहेका प्रजातान्त्रिक सोच भएका व्यक्तिलाई हराउन बाहुबलीको नेपाली संस्करण मण्डलेलाई प्रयोग गर्थे। यसलाई पुष्टि गर्न एउटा मात्र उदाहरण पर्याप्त हुन्छ।

सिरहा जिल्लामा पंचायती व्यवस्थाका स्तम्भको रुपमा स्थापित भएका थिए राजदेव गोइत। जसलाई जिल्लाको भिष्मपितामह पनि भनिन्थ्यो । तर जनमतसंग्रहमा उनी बहुदलतिर लागे। फलस्वरुप सिरहाले बहुदलको पक्षमा रेकर्डतोड मत ल्याएर मुलुकमा नै प्रथम भयो। यसले गर्दा राजदेव गोइत पंचायतकालमा कहिल्यै चुनाव जितेन । किनकि दरवारबाट नै हराउन निर्देशन दिइन्थ्यो। मण्डलेहरुले बुथ लुटिरहदा विरोध गर्ने उनको कार्यकर्तालाई सिडियोले नै कुटेको यो पंक्तिकारले देखेको हो ।

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पहिलो आम निर्वाचन तथा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस बदनाम हुन गयो । किनकि बहुदलीय व्यवस्थाले संस्थागत रुप धारण गर्नुभन्दा पहिले नै उसले बहुबली उत्पादन गर्न खोजेको थियो । नेपाली कांग्रेसका तत्कालीन महामंत्री गिरिजा प्रसाद कोइराला मोरंग क्षेत्र न १ बाट एमालेका लवप्रधान मित्रसंग प्रतिस्पद्र्धामा थिए । चुनाव कोइरालाले नै जिते तर पेस्तोलसहित भारतीय गुण्डाहरुको तस्वीर जसरी नेपाली मिडियामा प्रकाशित भयो त्यो दृश्य महम्मद अफताव आलमहरुले पक्कै देखेको हुनु पर्छ । विजय गच्छेदार त त्यसको एउटा योजनाकार नै थिए । त्यतिबेला विराटनगरबाट एउटा बहुबलीको उदय भएको थियो । नाम थियो उमेश गिरी । विराटनगरदेखि काठमाडौंसम्म उनको हाँकडाक थियो । तत्कालीन महामंत्री गिरिजा कोइरालाको मतहतमा रहेका गिरीले आºनै पार्टीका अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई समेत हराउन अहम् भूमिका खेलेका थिए ।

तर उनको चर्तिकला २०४९ सालको विराटनगरको स्थानीय निर्वाचनमा देखियो । दुइटा बूथ लुट्न खोज्दा यो पंक्तिकारले तरवारसहितको एक दर्जन फोटो प्रकाशन गरेर भण्डाफोर गरेको थियो । उमेश गिरीको सम्बन्ध भारतीय बाहुबली नेता आनन्द मोहन सिंहसंग थियो जो त्यतिबेला चन्द्रशेखरको नगिच मानिन्थे । यो कुरा विराटनगरको स्थानीय नमस्कार होटलमा बाहुबली आनन्दमोहन सिंहलाई गरिएको भव्य स्वागतबाट पनि पुष्टि हुन्छ । त्यहाँ उमेश गिरीको उपस्थिति नभए पनि बुथ लुट्नेहरु प्रायः सबै थिए ।


महम्मद अफताव आलममार्का बाहुबली :
भारतीय लोकसभामा रहेकामध्ये ९० प्रतिशत करोडपति छन्। यो आँकडा प्रायः राज्यको सबै विधानसभामा समेत लागू हुन्छ। कुनै क्षेत्रबाट कुनै गरीवले चुनाव जितेको थियो भन्ने कुरा एका देशमा एउटा राजा थिए भन्ने कथाजस्तो भएको छ। जो जित्थे त्यसलाई खुलेयाम दिनदहारे गोली हानेर मार्थे। पूर्णियाका माक्र्सवादी विधायक अजित सरकारलाई बाहुबली पप्पू यादवले हत्या गर्न लगाए। किनकि, जबसम्म अजित सरकार जिबीत थिए तबसम्म कसैलाई जित्न दिएको थिएन। महम्मद अफताव आलम र पप्पू यादवको बीचको भौगोलिक दूरी धेरै भएकोले भेंट नभएको पनि हुन सक्छ । तर विहारकै सिवान जिल्लाका बाहुबली सांसद शहाबुद्यीनसंग पक्कै भेंट भएको हुन सक्छ। किनकि विहारको सिवान जिल्ला नेपालको रोतहटको नगिच नभए पनि टाढा पनि छैन। होइन भने इटा भठ्ठमा यत्रो युवालाई एकै पटक मार्ने साहस आलमलाई हुने थिएन । दुई दर्जन हत्या, लुट, डकैती, अपहरण मुद्दालाई टाउकोमा लिएर शहाबुद्दीन सांसद बन्न सक्छन भने महम्मद अफताव आलमको नाम अगामी निर्वाचनको लागि नेपाली कांग्रेस रातहटले सिफारिश गरेकोमा यत्रो होहल्ला मचाउने के कारण होला। आखिर नेपाल पनि विहारको कार्वन कपी होइन र! तराईमधेश त फोटोकपी नै हो।

अन्त्यमा, दार्शनिक शुकरातले भने झै संसदीय लोकतन्त्रको अवस्था त्यतिबेला राम्रो हुन्छ जतिबेला शिक्षित व्यक्तिहरुले समाजमा वर्चश्व स्थापित गर्नेछन्। त्यसैले दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले शिक्षा र स्वास्थ्यप्रति जुन सचेतता ल्याउने काम गरेका छन् त्यस्तो अवस्था विहार र उत्तर प्रदेशमा हुन सकेको भए नेपालमाथि पक्कै सकारात्मक प्रभाव पर्ने थियो। नेपालको संसदीय प्रजातन्त्रमा विजय कुमार गच्छेदार, महम्मद अफताब आलम, चक्रे मिलन, गणेश लामाहरु जन्मिनुभन्दा मनिष सिसोदिया, भगवन्त सिंहहरु जन्मिन्थे।
ab mall