वीरगञ्ज, २१ भाद्र। वीरगञ्ज महानगरपालिकाले यहाँस्थित संस्थागत विद्यालयहरुको स्थलगत अवलोकन तथा निरीक्षणको थालनी गरेको छ । संस्थागत विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारणका लागि गठीत समितिले विद्यालयहरुको स्थलगत अवलोकन थालेको हो।

लामो समयदेखि संस्थागत विद्यालयहरुले मनोमानी रुपमा शूल्क उठाएको गुनासो अभिभावकहरुले गरेपछि महानगरपालिकाले वर्गीकरण तथा शूल्क निर्धारण समिति गठन गरेको हो।

choharwa mabi

महानगरपालिकाका मेयर राजेशमान सिंहको संयोजकत्वमा गठीत समितिले विद्यालयहरुको अवलोकन एवम् निरीक्षणपश्चात विद्यालयको चौतर्फी मूल्यांकनका आधारमा वर्गीकरण गर्ने समितिका सदस्य एवम् वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिए । उनका अनुसार हाल ५२ वटा विद्यालयले स्वमूल्यांकन गरेको भनेर महानगरपालिकामा सूचीकृत गराएका छन्।

पहिलो चरणमा ति ५२ वटा विद्यालयको स्थलगत अवलोकन एवम् निरीक्षण गरेर विद्यालयले गरेको स्वमूल्यांकन र समितिले गरेको मूल्यांकनका आधारमा विद्यालयको वर्गीकरण गरिने कर्णले बताए।

विद्यालयको भौतिक संरचनादेखि शैक्षिक उपलब्धी लगायतका सबै क्षेत्रको आधारमा विद्यालयको वर्गीकरण गरेर वर्गअनुसारको शूल्क निर्धारण गरिने समितिका संयोजकसमेत रहेका मेयर राजेशमान सिंहले जानकारी दिए । उनले भने, “शिक्षा क्षेत्रको बिकास बिना अन्य क्षेत्रको सुधार हुन सक्तैन, त्यसैले पहिलो चरणमा शिक्षाको सुधारका लागि विद्यालयहरुको वर्गीकरण र शूल्क निर्धारण हुन आवश्यक छ । त्यही आवश्यक्तालाई मध्यनजर गर्दै आजदेखि यो समितिले काम थालेको छ।”

संस्थागत विद्यालयहरुको वर्गीकरण गरेर शूल्क निर्धारण गरेपछि विद्यालयले मनोमानी रुपमा शूल्क लिन नपाउने र अभिभावकको गुनासो पनि सम्बोधन हुने मेयर सिंहको बिश्वास छ।

Untitled-1 copy