शिक्षकले पिट्दा विद्यार्थीको कानको जाली फुट्यो, आँखाको ज्योति गुम्यो, हात भाँच्चियो, खुट्टा मर्कियो, शरीरभरि नीलडाम’ भनेर समाचार आइरहन्छन् । त्यस्तै ‘शिक्षिकाले मन नपराएको’, ‘बाबाले गाली गरेको’ जस्ता सामान्य कारण देखाएर नानीबाबुले ‘आत्महत्या’ गरेका खबर पनि आउँछन् । यस्ता समाचारले बेलाबेलामा मलाई झक्झकाउँछ ।
किशोरी छात्राहरू यौन दुर्व्यवहारको सिकार बन्ने गरेका खबरले झनै उद्वेलित गराइदिन्छ । हाम्रा विद्यालय कठोर कारागार अनि छात्रावास व्यभिचारका केन्द्रमा परिवर्तन हुन लागेका त होइनन् प्रश्न उठ्छ ।
लालयेत् पञ्चवर्षाणि, दशवर्षाणि ताडयेत् ।
प्राप्ते तु षोडशे वर्षे, पुत्रं मित्र समाचरेत् ॥
पारपाचुकेका कारण भएका पारिवारिक विघटन, एकल परिवारको वृद्धि, आमाबाबु दुवैले बाहिरी कामकाज गर्नुपर्ने अवस्था, सानो उमेरमै बालबच्चालाई विद्यालय पठाउनुपर्ने बाध्यता, सामाजिक सञ्जालहरूका आइरहेका बाढी, सांस्कृतिक विचलन आदि पारिवारिक अनि सामाजिक वस्तुस्थितिमा आएका परिवर्तनका कारण घरभित्र अनि विद्यालयमा पनि अनुशासन, नैतिकता, आचारविचारका चिन्तनमा भिन्नता आइरहेका छन् । घर अनि विद्यालयबीच जस्तो पारस्परिक सम्बन्ध रहनुपर्ने हो, त्यस्तो अहिले छैन । अभिभावकले विद्यालयलाई बालबालिकाको समय कटाउने थलो या आफूले गर्नुपर्ने हेरचाहको जिम्मेवारी बाँडफाँड गर्ने ठाउँ अनि शिक्षकले शिक्षालाई कोरा व्यापारिक लेनदेनका रूपमा मात्र लिइदिँदा माथि उल्लिखित समस्या आइरहेका हुन् । जिम्मेवारी, सम्मान, विश्वास, न्याय, रेखदेख, नागरिक दायित्वजस्ता मान्यतामा चुकेका छन्- अभिभावक र शिक्षकगण । त्यसैले नै बालबालिकामा अनुशासन कायम राख्न सजायबाहेक अन्य विकल्प नभएझैं ठानिएको छ ।
घरपरिवार अनि विद्यालयमा सकारात्मक वातावरण बनाइराख्न पनि अभिभावक एवं शिक्षक वर्गमा कार्यकुशलता अनि परस्पर सद्भाव अत्यावश्यक छ । अति उद्दण्डता देखाउने बालकालिकाका लागि नै पनि अनुशासनको प्रमुख लक्ष्य तिनमा आत्मसंयम या स्वनियन्त्रणको विकास गराउनु हुनुपर्छ न कि दण्डको डर पैदा गर्नु । त्यसैले शारीरिक सजाय या गालीगलौजजस्ता प्रायः प्रयोगमा ल्याइने अनुशासनका विधि प्रभावकारी मानिंँदैनन् । युरोपमा भएका विभिन्न अध्ययनले झापड हान्ने, पिट्नेजस्ता सजायले बालबालिकाका उच्छृंखल व्यवहारमा झनै वृिद्घ गरेर कालान्तरमा ती विभिन्न मानसिक समस्याको सिकार बनेका, अनि लागूऔषध लिन या आपराधिक प्रवृत्तितर्फ उन्मुख भएका छन् ।
शारीरिक सजायले चोटपटक बढाउने त छँदै छ, मानसिक चोटजस्तो ग्लानि, हीनताबोध वा बदलाको भावनासमेत बढाउने गर्छ । गालीगलौजले बालबालिकाको आत्मविश्वासमै कमी ल्याउने गर्छ । बाबुआमा अनि शिक्षकले आज्ञाकारितालाई भन्दा स्वनिर्णय गर्ने क्षमता अभिवृद्धि गर्नुलाई बढी महत्त्व दिए बालबालिकामा अनुशासनको गुण क्रमशः विकास हुँदै जान्छ, त्यसले विवेक अनि कर्तव्यबोधको रूप लिन्छ भविष्यमा । शारीरिक सजाय दिने गर्दा बालबालिकाले यसबाट बच्न मात्र शिक्षक या अभिभावकले चाहेको क्रियाकलाप उनीहरूका अगाडि गर्ने गर्छन् । तर तिनको आँखा छलेर अनुचित व्यवहार गर्ने सम्भावना भने रही नै रहन्छ । दण्ड पाइसकेपछि बालबालिकाले ‘मैले मूल्य चुकाइसकें, फेरि गरें भने पिटाइ नै पाउने त हो नि !’ भन्दै त्यस्ता व्यवहार दोहोर्याइरहन सक्छन् । आफूले गरेको कामको पश्चात्ताप मान्ने सम्भावना कमै रहन्छ ।
बालबालिकालाई नियम पालना गर्न हरदम इच्छुक बनाइराख्ने हो भने दण्डसजाय अनि प्रोत्साहन-पुरस्कार दिनेतर्फ विचार पुर्याउनुपर्छ, जसका दुई प्रचलित विधि हुन्- पुरस्कारमा कटौती र जरिवाना तिराउने । अनुचित क्रियाकलाप गरेमा उसले पाउँदै आएको सुविधामा कटौती गरिदिने या बन्द गरिदिनेजस्तो गृहकार्य नगरेसम्म खेलकुदमा भाग लिन नदिने गर्न सकिन्छ । त्यस्तै ‘तिमीले ऐना फुटायौ’ त्यसैले ‘तिम्रो गोजी खर्चबाट असुलउपर गर्छु’ भन्न सकिन्छ । तर यी तरिकालाई प्रभावकारी रूपमा प्रयोग गरिएन भने राम्रो परिणाम ल्याउन सक्दैनन् । यी दुवै बालबालिकामाथि मात्र केन्द्रित छन्, न कि तिनको व्यवहारमाथि । पुरस्कार बालबच्चालाई लोभ्याउन उपयोगी हुन सक्छ, यसको लोभमा केही असल व्यवहार पनि देखाउँछन् तर त्यसलाई सधैं कायम राख्न सकिएन भने अनुचित क्रियाकलापतिर नै फर्कने जोखिम हुन्छ । अर्कातर्फ सबै गलत क्रियाकलापमा जरिवाना गराउन सम्भव पनि हुँदैन अनि सबै उमेर समूहमा यसलाई लागू गर्न पनि सकिँदैन ।
अतः दण्डसजाय या पुरस्कार सम्बन्धित बालबालिकालाई मात्र केन्द्रमा राखेर गरिने प्रयास हुन् । प्रभावकारीताका लागि भने नराम्रो आचरण या बानीव्यहोरातर्फ नै केन्द्रित हुनु जरुरी छ । अब बालबालिकालाई नियमन गर्ने वा अनुशासित गराउने अलि बढी प्रभावकारी विधिहरूको चर्चा गरौं ।
परिणाममुखी नियमन : हामीलाई थाहै छ, खाना समयमा नखाए भोक लाग्छ । बेलुका खाना खान मन नगर्ने बालबालिका हुन् या समयमा घर आएर खाना नखाने किशोरकिशोरी, बाबुआमा ती भोकै रहलान् भनी चिन्ता गरेर आफू नै नखाएर बस्ने या उनीहरू आएपछि तताएर खाना ख्वाउने गर्छन् । त्यसले ती बालबालिका या किशोरकिशोरीको ‘ढिलो आउने’ या खान नमान्ने बानीमा कुनै कमी आउँदैन । अतः परिणाममुखी अनुशासन चाहने हो भने छोराछोरीलाई ‘तिमीहरूले खान मानेनौ या समयमा घर आएनौ भने खान पाउँदैनौ, भोकै बस्नुपर्छ’ भनेर कडा निर्देशन दिएर, त्यही प्रवृत्ति दोहोर्याएमा बेलुकीको खान बन्द नै गरिदिनुपर्छ । त्यसपछि बल्ल छोराछोरीले ‘हाम्रो कारणले नै हामी भोकै रहनुपरेको हो’ भन्ने यथार्थ बोध गर्छन् र व्यवहारमा सुधार आउन सक्छ । यो विधिले बालबालिकालाई जिम्मेवारी बोध मात्र नगराई जवाफदेहिता पनि विकास गर्छ । ‘मेरो कामको जिम्मेवारी मै लिन्छु, ठीक बेठीक परिणामको जवाफदेही मै हुँ’ भन्ने बोध भइसकेपछि सकारात्मक तवरले नै अनुशासनको विकास भएन र ?
टाइम आउट : यो दुई वर्षमाथिका अनि प्राथमिक विद्यालय तहका बालबालिकालाई ज्यादा उपयोगी देखिएको छ । यसमा आफूले नचाहेको व्यवहार छोराछोरीले देखाएमा तिनलाई बाबुआमाले एउटा निश्चित ठाउँमा रहन लगाएर ध्यान नदिने गर्नुपर्छ । बालबालिकामा बाबुआमाको ध्यान पाउन नसक्ने क्रियाकलाप गरेको जब बोध हुन्छ, तब त्यस्ता कार्य रोक्ने सम्भावना बढी हुन्छ । बालबालिकाको उमेर अनुसार १–५ मिनेटको समय दिनुपर्छ ‘टाइम आउट’ का लागि । समय सकिनासाथ बालबालिकासँग त्यो क्रियाकलापबारे कुनै चर्चा नगरी सामान्य व्यवहार गर्नुपर्छ । अतः प्रभावकारी अनुशासनका लागि बालबालिका–बाबुआमा–शिक्षक वर्गको आपसी सम्बन्धमा विचार पुर्याउँदै इच्छित व्यवहारका लागि प्रोत्साहन अनि नरुचाइएको क्रियाकलापका लागि परिणामबोध गराउन सक्ने वातावरणको तयारी गर्नुपर्छ ।
बाबुआमा अनि शिक्षकशिक्षिका अधिनायकवादी नभई आधिकारिक रहन सकेमा कठोर दण्ड–सजायबिना नै अनुशासनको परिपालना गराउन सकिन्छ । विद्यालयको कक्षाकोठामा स्वस्थ वातावरण कायम राखी सकारात्मक सुदृढीकरणका उपाय अवलम्बन गरेर समस्या समाधान गर्न सही निर्णय लिने समर्थ शिक्षक नै आधिकारिक शिक्षक बन्न सक्छन् । तिनले नै बालमनोविज्ञानमा असर नपारी यातनारहित विद्यालयको अवधारणा निर्माण गर्न सक्छन् ।
रिसाल धुलिखेल अस्पतालको मनोचिकित्सा विभागमा कार्यरत छन् । कान्तिपुरबाट।