काठमाडौं, १५ भाद्र। काठमाडौंको बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट बुधबार साँझ खसेर दुई विद्यार्थीको मृत्यु भएको छ। निर्माणाधिन ६ तल्ले घरबाट खसेर गम्भिर घाइते १३ वर्षीय अनिकेत रोय र १४ वर्षीया कृतिका जैशावालको उपचारको क्रममा मृत्यु भएको हो।
उनीहरु दुवैले सागै छतबाट हामफालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घाईते दुवै विद्यार्थीलाई तत्काल प्रहरी र स्थानीयको सहयोगमा अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका हुन्।
महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार उक्त निर्माणाधीन घरबाट उनीहरुले एकसाथ हामफालेको बताए।
उनीहरु दुवैजना बानेश्वरस्थित पाठशाला स्कुलको कक्षा ९ का विद्यार्थी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।
दुवैजनाले हामफाल्नुको कारणबारे खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।
हामफालेपछि उनीहरुलाई स्थानीयबासी र प्रहरीले घटनास्थलबाट उद्धार गरेर उपचारका लागि अस्पताल लगेका थिए।