वीरगञ्ज, ९ भाद्र। वीरगञ्ज महानगरपालिका १५ निवासी गुडी देवीको नक्सा पास भएको साढे ४ वर्ष बितिसक्यो। १९ माघ २०७४ मै गुडी देवीले नक्सा पास गराउने प्रक्रिया पूरा गरेकी थिइन्।
प्रक्रियाबमोजिम उनको नक्सा १४ बैशाख २०७५ मा पास पनि भयो। तर नक्सा पास भयो कि भएन भन्ने बारे साढे ४ वर्षसम्म उनी बेखबर भइन्। बिचबिचमा पटक–पटक सोधपुछ गर्न आउँदा पनि भएको छैन भन्दै फर्काइएको उनले दुखेसो गरीन्। त्यसपछि उनले नक्सा पास भएपछि आफै खबर आउला भन्ने आशमै साढे ४ बर्ष बिताइन्। यसअघि कसको नक्सा पास भयो, कसको भएन भन्ने कुनै सूचना नै महानगरले जारी गरेको थिएन।
वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा राजेशमान सिंह आएसँगै नक्सा पास भएका व्यक्तिहरुको सूचना सार्वजनिक गर्ने परिपाटीको शुरुवात गरिएको छ। भदौ ७ गते वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले एक सूचना सार्वजनिक गर्दै नक्सा पास भइसकेका ३१ जनाको नामावली सार्वजनिक गरेका छ।
सूचनामा उल्लेख भएबमोजिम २०७४ सालदेखि हालसम्म नक्सा पास भएर पनि हालसम्म ३१ जनाले बुझेका छैनन्। अबदेखि नक्सा पास गर्दाको झन्झटीलो प्रक्रिया हटाएर छिटो र छरितो काम हुने व्यवस्था मिलाइएको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए । उनले भने, “हामीले जनताको कामलाई छिटो र छरितो बनाउनुपर्छ र उनीहरुको काम भए नभएको बारेमा सुसुचीत पनि बनाउन आवश्यक छ। त्यसैले अबदेखि प्रक्रिया पुगेको छ र कुनै किसिमको विवाद छैन भने समयमै काम हुन्छ।”
मेयर सिंहका अनुसार अँझै महानगरमा सुधार गर्नुपर्ने थुप्रै कामहरु छन्। समयअनुसार बिस्तारै सबै क्षेत्रमा सुधार हुने उनले बिश्वास पनि दिलाए। उनी भन्छन्, “मेयर पनि मान्छे नै हो, कुनै जादुको छडी हैन, एकैपटकमा सबै क्षेत्रमा चमत्कार हुनलाई। मलाई केही समय दिनहोस्, म सबै क्षेत्रमा नमुना काम गरेर देखाउँछु।”