सप्तरी, ५ भाद्र। सशस्त्र प्रहरीले ट्युबमा बाँधेर नेपालबाट भारततर्फ लैजाँदै गरेको करिव २४० केजी गाँजा बरामद गरेको छ। तस्करहरुले कोसी नदीमा हावा भरिएको ट्युब काठमा बाँधेर त्यसमा प्लास्टिकको बोरामा प्याक गरिएको गाँजा भारततर्फ लाँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका १ बाट आज विहान बरामद गरेको हो।

GBS lahan

यो घटनाले गाँजा तस्करीको नयाँ तरिका देखिएको छ। सशस्त्र प्रहरी गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काका अनुसार ९ वटा पोकामा रहेको २ सय ४० किलो गाँजा नियन्त्रणमा लिएपछि तस्करीको नयाँ तरिका खुलेको हो।

यो घटनाले पहाडी जिल्लाहरूबाट सप्तरी हुँदै आउने गाँजा कोसी नदीहुँदै भारततर्फ तस्करी आएको रहस्य खुलेको छ। यसअघि विभिन्न स्थानबाट कोसी ब्यारेज आउने र त्यहाबाट डुंगाको माध्यमले भारततर्फ गाँजा तस्करी हुने गरेको थियो।

तर डुंगामाथि सुरक्षाकर्मीले निगरानी बढाएपछि तस्करले ट्युबमा बाँधेर नदी हुँदै तस्करी गर्ने नयाँ उपाय निकालेको हुन सक्ने प्रहरीले जनाएको छ।

गाँजा आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लागाएको बताइएको छ।

बराबाट गाँजा सहित दुईजना पक्राउ

त्यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजा सहित चितवन राप्ती नगरपालिका १२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।