वीरगञ्ज, ५ भाद्र। वीरगञ्जका यातायात व्यवसायीहरुले लामो समयदेखि उठाएको माग हालसम्म पनि सम्बोधन हुन सकेको छैन। १० भदौ २०७६ मङ्गलवारका दिन तत्कालिन उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेको वीरगञ्ज बसपार्क व्यवस्थित रुपमा सञ्चालन नभएको यातायात व्यवसायीको गुनासो छ।
वीरगञ्जका यातायात व्यवसायीहरुले आफ्ना समस्याहरुको बारेमा निवर्तमान मेयर बिजय कुमार सरावगीको पनि पटकपटक ध्यानाकर्षण गराएका थिए। अहिले समय पनि फेरियो अनि मेयर पनि फेरिए। नयाँ मेयर राजेशमान सिंहलाई पनि ठेकेदार कम्पनीको मनोमानीका बारेमा ध्यानाकर्षण गराइसकेको पूरानो नारायणी यातायात कम्पनी प्रा.ली.का सञ्चालक बिनोद कुमार मानन्धरले बताए।
वीरगञ्ज महानगरपालिकाले नयाँ बस टर्मिनल सञ्चालनका लागि आवश्यक पूर्वाधार नै निर्माण नगरेर हतारमा निजी साझेदार कम्पनी एम.के. इन्टरनेशनल कन्स्ट्रक्शन प्रा.ली.लाई ठेक्का लगाएको भन्दै यातायात व्यवसायीहरुले आपत्ति जनाएका छन्। उक्त कम्पनीले यातायात व्यवसायीहरुलाई सहज वातावरणको सृजना गरी सुरक्षाको प्रत्याभुती दिलाउनुको साटो उल्टै दोहोरो शूल्क लिएर मारमा पारेको पर्सा नारायणी यातायात प्रा.ली. वीरगञ्ज पर्साका अध्यक्ष जगत साह कानुले बताए। प्रति दिनको हिसावले उठाउनुपर्ने शूल्कलाई टर्मिनल भित्र छिर्दा र निस्किदा दुबैतर्फको दोहोरो मात्रै नभएर पटके करको नाममा तेहोरो शूल्क उठाइरहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्षसमेत रहेका जगत साहको भनाई छ।
निवर्तमान मेयरदेखि वर्तमान मेयरसम्मलाई दोहोरो शूल्क असुल्ने कार्य रोक्न आग्रह गरेपनि झुठो आश्वासनबाहेक केही नपाएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.ली. पर्साका संयोजक सुमन श्रेष्ठले बताए।
हालसम्म असुलेको नाजायज एवम् दोहोरो शूल्क समेत असुल उपर गरेर फिर्ता दिनुपर्ने यातायात व्यवसायीहरुले माग गरेका छन्। बसपार्क क्षेत्रमा बसको टिभी, ब्याट्री, डिजेल लगायतका सामाग्री चोरी हुने गरेको हुँदा आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरेर सुरक्षाको प्रत्याभुती भइसकेपछि मात्रै पार्किङ् शूल्क लिने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।
यातायात व्यवसायीहरुले गुनासो गरेपछि १९ जेठमा महानगर प्रमुख राजेशमान सिंहले बसपार्क क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। बसपार्क क्षेत्रमा विभिन्न कमी कमजोरी देखिएको हुँदा त्यसको अध्ययन एवम् अनुसन्धान भइरहेको मेयर राजेशमान सिंहले बताए। उनले प्रक्रिया जारी रहेको बताउँदै केही दिनभित्रै यातायात व्यवसायीहरुको समस्या समाधान हुने विश्वास दिलाएका छन्।
यता ठेक्का लिएको एम के इन्टरनेशन प्रा.ली.का सञ्चालक शिव कुमार गुप्ताले भने सम्झौता विपरित कुनै पनि काम नभएको दावी गरे। महानगरसँग भएको सम्झौता अनुसार नै पार्किङ्ग र पटके शूल्क लिइएको गुप्ताको भनाई छ।