लहान, ३१ साउन।सिरहा प्रहरीले ९० केजी प्रतिवन्धित लागु औषध गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई नियन्त्रणमा लिएको छ।

पश्चिमबाट पूर्व गईरहेको ९० केजी गाँजा बोकेको को १ च ७५७७ नम्वको एम्वुलेन्स सहित चालक सिरहाको धनगढीमाई नपा ९ मुसहर्नियाँका सरोज लामालाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहानको ट्राफिक चोकबाट नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाको आधारमा ईप्रका लाहानका ईन्चार्ज डीएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्सपेक्टर प्रदिप पौडेलले जानकारी दिए।
बरामद गँजा सिरहाकै धनगढीमाई नपा १३ भालुटारबाट एम्वुलेन्समा लोड गरेर ल्याएको प्रहरीको भनाई रहेको छ।
अहिलेसम्मको अनुसन्धानबाट सिरहाको भगवानपुर ठाडीनाका हुँदै भारत पसाउने उद्देश्य सहित ल्याउँदै गरेको प्रहरीले जानकारी दिए।
सुनसरी वहाराक्षेत्रमाको गुठिको नाममा दर्ता रहेको एम्वुलेन्स लामाले आफ्नो जिम्मा लिएर चलाउँदै आएको प्रहरीको भनाई छ। तर लामाले खरिद गरेरै चलाएको भन्ने अर्का एक एम्वुलेस चालकले बताए।
सिरहामा अन्य जिल्लाका संस्थाहरुले भन्सार छुटमा खरिद गरिएको एम्वुलेन्स व्यक्तिले खरिद गरेर चलाउने प्रवृति बढेर गएको छ।
घटनाबारे थप अनुसनधान ईरहेको प्रहरीको् भनाई छ।























