वीरगञ्ज, २० साउन। जिल्ला प्रहरी कार्यालय पर्साले एक वर्षको अवधिमा लागु औषध सम्बन्धी कसूरका २ सय ३७ वटा मुद्दा दर्ता भएको छ, भने सोही अवधिमा ३१८ जना पक्राउ परेका छन्। साउन २०७८ देखि असार २०७९ एक वर्षको अवधिमा वधिमा जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषध सम्वधि २ सय ३७ वटा मुद्दा दर्ता भएका हुन्।
मंसिर महिनामा सबैभन्दा धेरै ३१ वटा मुद्दा दर्ता गरेको पर्सा प्रहरीले सबैभन्दा कम बैशाख महिनामा जम्मा ११ वटा मुद्दा दर्ता गरेको छ। ति सबै मुद्दामा ९ जना महिला र ३ सय ९ जना पुरुष गरी ३ सय १८ जना पक्राउ परेका हुन्।
सोही अवधिमा १ हजार ३ सय ५० किलोग्राम गाँजा बरामद गरेको पर्सा प्रहरीले २३ किलोग्राम चरेश बरामद गरेको छ। ५८ ग्राम व्राउन सुगर, १३ किलो अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।
प्रहरी उपरीक्षक बस्नेतले उपलब्ध गराएको तथ्याङ्क अनुसार ५ हजार ३ सय ६० पिस फेनारगन, ४ हजार १ सय ६८ पिस डाईजिल्याब, ४ हजार २ सय ५३ पिस नुर्फिन, १५ हजार ६ सय ४२ पिस नाइट्रोभेट ट्याब्लेट र १ हजार ६ सय १३ पिस कोरेक्स बोत्तल बरामद गरिएको छ।
१ वर्षको अवधिमा लागु औषधका मुद्दा धेरै हुनुले प्रहरी उपरीक्षक बस्नेतले चिन्ता व्यक्त गरेका छन्। लागु औषध दुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्दा पनि लागु औषधका मुद्दा बढेको भन्दै प्रहरी उपरीक्षक बस्नेतले सरोकारवालालाई गम्भिर हुन आग्रह गरेका छन्।
देशका मेरुदण्ड भनिने युवाहरु लागु औषधको दलदलमा फस्दा राष्ट्रको नयाँ पुस्ता सक्षम र सबल बन्न नसक्ने भन्दै उनले सबलीकरण र व्यावहारिकरण शिक्षासँगै अनुशासन एवम् कर्तव्यनिष्ठ बनाउनुपर्नेमा जोड दिएका छन्।