वीरगञ्ज, १३ साउन। सशस्त्र प्रहरीले मधेश प्रदेशमा एक वर्षको अवधिमा प्रतिबन्धित लागु औषधसहित १ सय ७३ जना पक्राउ गरेका छन्। आर्थिक वर्ष २०७८/७९ भित्र मधेश प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले लागु औषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।
सोही अवधिभित्र ३५ ओटा सवारी साधन पनि लागु औषधसहित नियन्त्रणमा लिइएको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए।
साउन २०७८ देखि असार २०७९ सम्ममा मात्रै सशस्त्र प्रहरीले २ हजार ६६७.२५ किलोग्राम गाँजा बरामद गरेको छ। ३१.९२ किलोग्राम चरेस, १ सय ग्राम ७३ मिलिग्राम ब्राउन सुगर, ३ हजार ७२६ एम्पुल नर्फिन, ४ हजार ९३ एम्पुल डाईजोपाम, २ हजार ६४३ एम्पुल फेनार्गन, २५ हजार ९ सय ३३ पिस नाईट्रोभेट ट्याब्लेट, १ हजार ३६५ बोत्तल कोरेक्स, ८ पिस सिरिन्ज, ६६ पिस स्पाम र ५ हजार १२८ पिस अन्य लागु औषध सशस्त्र प्रहरीले बरामद गरेको छ। यति ठूलो मात्रामा लागु औषध बरामद हुनुले मधेश प्रदेश लागु औषधको अखडा बन्दै गइरहेको संकेत गरेको छ।
छिन्नमस्ता बाहिनी मातहतका गण तथा सुरक्षा बेस क्याम्पहरुबाट खटिएको सशस्त्र प्रहरीले ६० विघा, १७ कट्टा १० धुर जग्गामा लगाइएको गाँजा खेती फडानी गरेको छ।
१ वर्षको अवधिमा यति ठूलो मात्रामा लागु औषध बरामद गरेकोमा डिआईजी मगरले चिन्ता व्यक्त गरेका छन् । द नेपाल टपसँगको कुराकानीका क्रममा डिआईजी मगरले देशको नयाँ पुस्ताहरु लागु औषधको कुलतमा फस्नु दुर्भाग्यपुर्ण भएको बताए।
भारतसँग खुला सिमाना जोडिएको मधेश प्रदेशसँगै अन्य जिल्लाहरुमा पनि लागु औषधको कुलतमा फस्नेहरुको संख्या बढ्दै गएको डिआईजी मगरको भनाई छ। जोश र जाँगरले भरिएको युवाहरुको जमात सिप सिकी ज्ञान आर्जन गरेर सकारात्मक क्षेत्रतर्फ सक्रिय हुनुपर्नेमा लागु औषधको कुलतमा फस्नुले देशको भविष्यमा ठूलो संकट आउन सक्ने उनको संकेत छ।
मगरले यसतर्फ सञ्चारकर्मीदेखि समाजसेवी, नागरिक समाज, शिक्षक, बुद्धिजिवी, सुरक्षाकर्मी लगायतले तदारुकताका साथ लागुऔषधबारे सचेतना फैलाउनुपर्ने आवश्यक्ता औँल्याए। साथै सरकारले पनि विशेष योजना ल्याएर लागुऔषधको रोकथामतर्फ ध्यान दिनुपर्ने डिआईजी मगरको बुझाई छ।